काठमाडौँ, २० कात्तिक । गृहमन्त्री शक्तिबहादुर बस्नेतले सशस्त्र प्रहरी बल स्थापनाको छोटो अवधिमै जनताका बीचमा सशक्त ढङ्गले स्थापित भएको बताउनुभएको छ ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयको आज निरीक्षणपछि बलका उच्च अधिकृतलगायत अन्य अधिकृतलाई निर्देशन दिँदै गृहमन्त्री बस्नेतले व्यावसायिक कार्यक्षमता र कार्यकुशलताले सशस्त्र प्रहरी बल गौरव गर्न लायक सुरक्षा सङ्गठनका रुपमा स्थापित भएको उल्लेख गर्नुभयो ।
“हरेक दुःख सुखमा सुरक्षा फोर्स जनताको बीचमा हुन्छ भन्ने कुरालाई हालै गएको विनाशकारी भूकम्पको विपत्तिमा सशस्त्र प्रहरी बलले मानवीय संवेदनशीलतालाई आत्मसात् गरी गरेको उत्कृष्ट कार्यले समेत दर्साउँछ’ मन्त्री बस्नेतले भन्नुभयो ।
उहाँले राष्ट्रियता, लोकतन्त्र, सार्वभौमिकता र नागरिकको हितलाई सर्वोपरि ठानी जनताको आकाङ्क्षा अनुरुप आगामी दिनमा अझै सक्रिय, विवेकशील र कर्तव्यनिष्ठ भएर जिम्मेवारी निर्वाहमा प्रतिबद्ध रहन प्रहरी बललाई निर्देशन दिनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले सुरक्षा चुनौतीलाई सामना गर्न प्रहरी बलले एकीकृत सुरक्षा योजनाअनुसार परिचालित भई जिम्मेवार ढङ्गबाट कार्य गरिरहेको बताउनुभयो । उहाँले सशस्त्र प्रहरी बलको जनशक्ति मुलुका ५६ जिल्लामा परिचालित रहेको जानकारी दिँदै शान्ति सुरक्षा र अमनचयन कायम गर्दै नागरिकमा प्रभावकारी सुरक्षा, सेवा प्रदान गर्ने लक्ष्यका साथ प्रहरी बल अगाडि बढिरहेको उल्लेख गर्नुभयो । रासस
No comments:
Post a Comment