काठमाडौँ, २० कात्तिक । उपप्रधानमन्त्री एवम् ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले मुलुकमा जारी ऊर्जा सङ्कटलाई समाधान गर्न सरकारले तत्कालीन, मध्यकालीन र दीर्घकालीन सोचका साथ कार्यक्रम अगाडि सार्ने बताउनुभएको छ ।
क्रान्तिकारी पत्रकार सङ्घले आज यहाँ आयोजना गरेको एमाओवादीबाट सरकारका सहभागी मन्त्रीको स्वागत कार्यक्रममा उहाँले परिणाम दिने ढङ्गले काम गर्ने तयारीमा सरकार रहेको र ऊर्जाको क्षेत्रमा गुणात्मक परिवर्तन हुने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा बूढीगण्डकी जलविद्युत् आयोजना अगाडि बढाउन सबै प्रकारको साधन र स्रोतको व्यवस्था गर्ने जानकारी दिँदै निर्माणाधीन आयोजनालाई चाँडोभन्दा चाँडो समाधान गर्न कुनै कसर बाँकी नराखिने स्पष्ट पार्नुभयो ।
सरकारको सकारात्मक कामको प्रभावकारी प्रचार गर्न र नकारात्मक कामको आलोचना गर्न उहाँले सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा कृषि विकास मन्त्री हरिबोल गजुरेलले कृषि क्षेत्रको विकास र विस्तारका लागि सरकार कटिबद्ध भएर लागेको उल्लेख गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकास र विस्तार गर्न सरकारले निजी क्षेत्रसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गृह मन्त्री शक्तिबहादुर बस्नेतले सरकार सफल र असफल हुने प्रमुख मापक गृृह मन्त्रालय भएकाले मुलुकरभर शान्ति सुरक्षाको उचित प्रबन्ध गरिने र त्यसका लागि आवश्यक निर्देशन दिइसकेको बताउनुभयो ।
सामान्य प्रशासन मन्त्री रेखा शर्माले कर्मचारी प्रशासनलाई अधिकतम जनताको पक्षमा परिचालन गर्ने योजनामा आफू रहेको बताउनुभयो ।
सिँचाइ मन्त्री उमेश यादवले राष्ट्रिय गौरवको आयोजना भनेको भरमा अगाडि नबढ्ने भएकाले प्रभावकारी कार्यान्वयन संयन्त्र बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले आपूर्ति व्यवस्थामा देखिएको समस्या समाधान गर्न सरकारले हरसम्भव उपाय अवलम्बन गरिरहेको भन्दै केही समय धैर्यधारण गरी इन्धन प्रयोगमा मितव्ययी बन्न आग्रह गर्नुभयो ।
एमाओवादीको सरकार सञ्चालन तथा समन्वय समितिका संयोजक एवम् एकीकृत नेकपा(माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकार जनताका लागि भएकाले मन्त्रीलाई जवाफदेही बनाउन लागेको बताउनुभयो ।
अधिकभन्दा अधिक रुपमा जनताका पक्षमा काम गर्ने ध्येयका साथ आफ्नो पार्टी सरकारमा सहभागी भएको उल्लेख गर्दै उहाँले पार्टीले तयार पारेको आचारसंहितालाई उल्लङ्घन गर्ने र त्यसविरुद्ध गएर गतिविधि गर्ने जुनसुकै मन्त्रीलाई पनि कारबाहीको दायरामा ल्याइने स्पष्ट पार्नुभयो ।
संविधानको सहज कार्यान्वयन गर्नु अहिलेको प्रमुख चुनौती भएको उल्लेख गर्दै उपाध्यक्ष श्रेष्ठले तराई मधेसमा जारी समस्या समाधान गर्न सरकार, राजनीतिक दल गम्भीर रहेको र केही समयभित्रै हल हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा क्रान्तिकारी पत्रकार सङ्घका अध्यक्ष गोविन्द आचार्यले जनताको पक्षमा काम गर्न मन्त्रीलाई आग्रह गर्नुभएको थियो । रासस
No comments:
Post a Comment