काठमाडौँ, २० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज ठमेल पर्यटन विकास परिषद्का पदाधिकारीले भेटी लगातारको नाकाबन्दीले पर्यटन क्षेत्रमा असर परेको गुनासो गरेका छन् ।
परिषद्का अध्यक्ष रामशरण थपलियाको नेतृत्वमा गएको टोलीले नाकाबन्दीका कारण इन्धनको अभावमा आएका पर्यटकलाई घुम्न असहज भएको जनाउँदै विद्यमान समस्याको तत्काल समाधानका लागि प्रधानमन्त्री समक्ष आग्रह गरेको हो ।
नाकाबन्दीकै कारण पर्यटकीय क्षेत्र ठमेलमा व्यवसाय सञ्चालन गर्न कठिनाइ परेको र आएका पर्यटकलाई सेवा दिन व्यवसायीलाई समस्या भइरहेकाले यथाशीघ्र समस्या समाधान गरी व्यावसायिक वातावरण बनाउने तर्फ उनीहरुले ध्यानाकर्षण गराएका थिए ।
जवाफमा प्रधानमन्त्री ओलीले समस्या समाधानका लागि पहल भइरहेको र वार्ताको माध्यमबाटै सबै समस्या हल हुने विश्वास दिलाउनुभएको परिषद्का अध्यक्ष थपलियाले बताउनुभयो ।
यसैबीच परिषद्ले भूकम्पपीडितको सहयोगार्थ रु दुई लाख एक हजार सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषलाई प्रदान गरेको छ । रासस
No comments:
Post a Comment