पोखरा, २० कात्तिक । नेपाली काँग्रेसका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानमा नसमेटिएका केही विषयलाई समेट्नका लागि व्यवस्थापिका–संसद्मा संशोधन प्रस्ताव दर्ता गरिएको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण एवम् सम्मान समारोहमा उहाँले संविधानलाई सर्वस्वीकार्य बनाउने नै काँग्रेसको लक्ष्य भएकाले संविधानका सम्बन्धमा उठेका कुनै पनि विषयमा काँगेस सबैसँग छलफल गर्न तयार रहेको उल्लेख गर्नु भयो ।
मधेस र पहाडबीचको एकताले नै देश समृद्धिको मार्गमा उन्मुख बन्ने धारणा राख्दै उहाँले नेपालमा इन्धन, औषधिजस्ता अत्यावश्यकीय वस्तुको आयात रोक्न धर्नामा बसेर कुनै मधेसी वा नेपालीलाई फाइदा नपुग्ने बताउनुभयो ।
प्रजातन्त्रको सुदृढीकरण एवम् संविधानको कार्यान्वयनका लागि काँग्रेसको भूमिका सधैं महत्वपूर्ण हुने नेता देउवाको भनाइ छ ।
उक्त अवसरमा नेता देउवाले नेपाल प्रेस युनियन कास्कीद्वारा स्थापित प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट वरिष्ठ सञ्चारकर्मी एवम् राष्ट्रिय समाचार समितिका सञ्चालक समिति सदस्य गङ्गाधर पराजुलीलाई सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस प्रचार विभाग प्रमुख एवम् पूर्वसञ्चार मन्त्री डा मीनेन्द्र रिजालले देशमा महत्वपूर्ण उपलब्धिका रुपमा संविधान जारी भएपछि नेपालको जनजीवन अत्यन्त असहज बनेको चर्चा गर्नु भयो ।
मधेसमा संविधानका सम्बन्धमा बुझाइ राम्रो बन्न नसक्दा समस्या बढिरहेको बताउँदै उहाँले आपसी संवादका माध्यमबाट समस्याको समाधान गर्न सकिने बताउनुभयो ।
राष्ट्रिय सूचना आयोगका आयुक्त एवम् नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष किरण पोखरेलले लोकतन्त्रको संस्थागत विकासका लागि सञ्चार जगतको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नु भयो ।
सम्मानित व्यक्तित्व पराजुलीले लोकतन्त्रको पहरेदार सञ्चार जगत नै भएको धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बराल, नेपाली काँग्रेसका नेता शुक्रराज शर्मा, नेपाल शिक्षक महासङ्घका अध्यक्ष केशव निरौला, पोखरा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष बिन्दुकुमार थापा, पुरस्कार छनोट समितिका संयोजक रवीन्द बास्तोला, युनियनका उपाध्यक्ष माधव रेग्मी, सचिव प्रकाशचन्द्र सापकोटालगायतले लोकतन्त्र सङ्कटमा परेका अवस्थामा काँग्रेसको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो ।
उक्त अवसरमा नेपाल प्रेस युनियन कास्कीले पूर्वसञ्चार मन्त्री डा मीनेन्द्र रिजाल, सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङसहित पुरस्कारका लागि अक्षयकोष स्थापना गर्न सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई पनि सम्मान गरेको थियो । रासस
No comments:
Post a Comment