काठमाडौँ, ११ मङ्सिर । उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीमबहादुर रावलले विश्व शान्ति स्थापना कार्यमा नेपाली सेनाको अहम भूमिका रहेको बताउनुभएको छ ।
नेपाली सेनाको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, परिसरमा नवनिर्मित महिला सैनिकमैत्री भवनको आज उद्घाटन गर्दै उहाँले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र दक्षिण एसियाकै एक उत्कृट तालिम केन्द्रको रुपमा रहेको र यसैक्रममा विश्व शान्ति कार्यमा समेत महिलाहरूको उल्लेख्य मात्रामा सहभागिताले समानुपातिकको उदाहरण प्रस्तुत गरेको उल्लेख गर्नुभयो ।
गत वैशाखमा गएको विनाशकारी भूकम्पका समयमा नेपाली सेनाले खोज, उद्धार तथा राहत कार्यमा पु¥याएको अतुलनीय योगदानको समेत प्रशंसा गर्नुभयो ।
प्रधानसेनापति राजेन्द्र क्षेत्रीले भवन निर्माण गर्न अभिन्न सहयोग पु¥याउने रक्षा मन्त्रालय, शान्ति तथा पुनःनिर्माण मन्त्रालय, शान्ति कोष सचिवालयलगायत भवन निर्माण कार्यमा प्रत्यक्ष एवम् अप्रत्यक्षरुपमा संलग्न सबैमा कृतज्ञता व्यक्त गर्नुभयो ।
कार्यक्रममा रक्षा सचिव, नेपाली सेनाका बलाधिकृत रथीलगायत अन्य रथीवृन्द, रक्षा मन्त्रालय र शान्ति तथा पुनःनिर्माण मन्त्रालयका पदाधिकारी, अधिकृतको समेत उपस्थिति रहेको थियो । रासस
No comments:
Post a Comment