Saturday, November 7, 2015

इन्धन अभावका कारण माथिल्लो सान्जेन र सान्जेन जलविद्युत् आयोजनाको निर्माण ठप्प कम्तीमा एक वर्ष पर धकेलियो आयोजना

काठमाडौँ, २१ कात्तिक । चिलिमे जलविद्युत् कम्पनीले रसुवामा निर्माण गरिरहेको सान्जेन जलविद्युत् आयोजनाको काम इन्धन अभावका कारण अवरुद्ध भएको छ ।

गत वैशाख १२ गतेको गोरखा भूकम्पका कारण लामो समय अवरुद्ध भएर निर्माण सुरु भए पनि पछिल्लो समय इन्धन अभावका कारण आयोजना थप समस्यामा परेको हो ।

भारतले अघोषित रुपमा नाकाबन्दी गरेपछि इन्धन आयातमा कठिनाइ भएपछि सुरुङ निर्माणको काम प्रभावित भएको हो । भण्डारण गरिएको इन्धन पनि सकिएपछि निर्माण पूर्णरुपमा ठप्प भएको आयोजनाले जनाएको छ ।

आयोजनाका लागि दैनिक एक हजार लिटर इन्धनको आवश्यकता पर्दछ । भारतको अघोषित नाकाबन्दीका कारण भन्सारमा सिमेन्ट, रडलगायतका सामग्री रोकिएका छन् भने सुरुङ निर्माण तथा अन्य भौतिक निर्माणको कामसमेत प्रभावित भएको आयोजना प्रमुख गिरिराज अधिकारीले जानकारी दिनुभयो ।

भूकम्पपछि गत असार १९ गतेबाट निर्माण सुरु भएको माथिल्लो सान्जेन र सान्जेन जलविद्युत् आयोजनाको काम गत असोज २६ गतेदेखि ठप्प छ, इन्धन अभावका कारण काम रोक्नु परेको छ, आयोजना प्रमुख अधिकारीले रासससँग भन्नुभयो– “भूकम्पपछि पनि थोरै समयमात्र रोकिएको आयोजना इन्धन सङ्कटका कारण रोकिँदा थप समस्या भएको छ ।”

सान्जनेका दुईवटा आयोजना निर्माणका क्रममा रहेका छन् । माथिल्लो सान्जेनको क्षमता १८ दशमलब ८ मेगावाट रहेको छ भने सान्जेनको क्षमता ४२ दशमलब ५ मेगावाट रहेको छ । २०७४ को साउन, भदौसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको ती दुई आयोजना भूकम्प र इन्धन अभावका कारण एक वर्ष पछाडि धकेलिएको आयोजना प्रमुख अधिकारीले राससलाई बताउनुभयो ।

तीमध्ये माथिल्लो सान्जेन तुदी निर्माण कम्पनी र भारतीय निर्माण कम्पनीको संयुक्त उपक्रम तथा सान्जेन बज्रगुरु निर्माण कम्पनी र भारतीय उपक्रमले निर्माण गरिरहेको छ ।

दुई आयोजनाको कुल लागत रु सात अर्ब २४ करोड रहेको छ । इन्धन अभाव र भूकम्पका कारण लागतसमेत बढ्ने देखिएको छ । तर कति लागत बढ्छ भन्नेमा अहिल्यै यसै भन्न नसकिने आयोजना प्रमुख अधिकारीको भनाइ छ । रसुवाको चिलिमे गाविसमा निर्माणाधीन ती दुई आयोजनामा चिलिमे जलविद्युत् आयोजनाले निर्माण गरिरहेको छ ।

सान्जेन खोलाको पानीमा रसुवाको तिलुचे बगरमा बाँधबाँधी एक हजार ४०० मिटर लामो सुरुङ र ४८० मिटर लामो पेनस्टक पाइपबाट १८.८ मेगावाट विद्युत् निकाल्ने योजना रहेको छ ।

सोही विद्युत् गृहबाट निस्केको पानी एवम् सिम्बुको खोलामा रहेको पानीलाई मिसाई तीन हजार ६०० मिटर लामो सुरुङ एवम् एक हजार १२० मिटर पेनस्टक पाइपको सहायताले ४२ दशमलब ५ मेगावाट विद्युत सान्जनेको नाममा निकालिने छ । हाल आयोजनाको काम लगभग ५० प्रतिशत जति सम्पन्न भएको छ । दुई आयोजनाको गरी कुल ५७ दशमलब ३ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

रसुवागढीको काम ठप्प

यस्तै चिलिमे जलविद्युत् कम्पनीले नै निर्माण गरिरहेको अर्को महत्वपूर्ण आयोजना रसुवागढीको काम भूकम्पपछि ठप्प रहेको छ । कुल १११ मेगावाट क्षमताको सो आयोजना रसुवाको थुमन र टिमुरे गाविसमा पर्दछ ।

नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा नै निर्माण गरिएको सो आयोजनाको सबै संरचना भूमिगत रहेको छ ।

रसुवागढी छेउको तिब्बततर्फबाट प्रवाह हुने भोटेकोसी नदीमा बाँधबाँधी चार हजार २०० मिटर लामो हेडेरस सुरुङ एवम् ३१३ मिटर लामो पेनस्टक पाइपको सहायताले तातोपानी भिरभित्र विद्युत् उत्पादन गरिनेछ । भूकम्पअघि सो आयोजनाको करिब तीन हजार मिटर सुरुङ निर्माण भइसकेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts