Saturday, November 7, 2015

जुलुसमा बालबालिकाको प्रयोग नगर्न अपिल बन्दका कारण बालबालिकाको अधिकार हनन भएको समितिको भनाइ

काठमाडौँ, २१ कात्तिक । केन्द्रीय बालकल्याण समितिले आन्दोलनको नाममा बालबालिकालाई जुलुस, बन्द, हडताल तथा आफ्नो स्वार्थमा प्रयोग गर्नुको सट्टा बालमैत्री वातावरण कायम गरी बालअधिकारको सम्मान र संरक्षण गर्न अपिल गरेको छ ।

संविधान जारी भएलगत्तै तराईका विभिन्न जिल्लामा भइरहेको आन्दोलनका क्रममा बालबालिकाको समेत प्रयोग हुनुका साथै आन्दोलनका कारण बालबालिका आफ्नो अधिकारबाट बञ्चित हुनुपरेको भन्दै समितिले आन्दोलनभन्दा पनि सहमतिबाट समाधान खोज्न आग्रह गरेको छ ।

नेपालको मधेस केन्द्रित दलको आन्दोलन र भारतको अघोषित नाकाबन्दीबाट बालबालिकाको संरक्षण र बालअधिकारको सम्वद्र्धन तथा प्रवद्र्धनमा ठूलो आघात पुगेको छ, समितिद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ– “महिनौँ दिनभन्दा लामो नाकाबन्दी, बन्द, हडताल, जुलुस, नारा र पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासलगायतका अभावका कारणबाट सिर्जित अवस्थाले समग्र बालबालिकालाई डर, त्रास, भय, हिंसा, अशान्ति, अभाव, बाधा, विरोध र व्यवधानको सिकार बनाएको छ ।”

समितिले नेपालले बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिलगायत बालबालिकाप्रति राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा व्यक्त गरेका प्रतिबद्धतालाई स्मरण गर्दै सम्बन्धित निकायलाई शान्तपूर्ण वातावरणमा बालबालिकाको विद्यालय जाने र आउने तथा शिक्षा आर्जन गर्न पाउने, औषधि उपचार गर्न पाउने अधिकारलाई सुनिश्चित गर्नसमेत अपिल गरेको छ ।

“बन्द, हडताल तथा हत्या हिंसाका कारणले तराई मधेसका सम्पूर्ण विद्यालय बन्द हुन बाध्य भएका छन्, भूकम्पले थलिएको समग्र आर्थिक क्रियाकलाप, शिक्षा, स्वास्थ्यमा परेको प्रभाव, खाद्यान्न आपूर्तिलगायतको अभावजस्ता प्राकृतिक विपद्को पीडा कम हुन नपाउँदै मानव सिर्जित यस विपद्बाट मानवीय सङ्कट सिर्जना हुन थालेको यस अवस्थाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ”– विज्ञप्तिमा भनिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts