गुल्मी, १ मङ्सिर । स्थानीय बजार वामी टक्सार क्षेत्रका नेवार समुदायले झिनिया रोटी बनाएर राम्रो आम्दानी गरिरहेका छन् । वामी टक्सार झिनिया रोटीका लागि प्रख्यात छ ।
विगत ४० वर्षदेखि निरन्तर झिनिया रोटी बनाउँदै आउनुभएकी स्थानीय झिनिया व्यापारी वामी–१ निवासी ७९ वर्षीया वृद्धा चम्पादेवी श्रेष्ठले भन्नुभयो – झिनिया रोटी बेचेरै आफ्नो दैनिकी गुजारा चलेको छ । अहिले बुढेसकालको सहारा पनि यही हो ।
विशेष गरी झिनिया रोटी चाडपर्व, पूजाआराधना, शुभकार्य, भोजभतेर, पार्टी, खाजा र पाहुनाको स्वागत सत्कारको लागि बाह्रै महिना प्रयोग गर्ने गरेको पाइन्छ । गएको तिहारमा वामी टक्सार बजारका व्यवसायीहरुले झण्डै ९ लाखको झिनिया रोटीको व्यापार भएको झिनिया व्यवसायी चिरञ्जीवी श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार विगतको तुलनामा चाडपर्वमा यहाँको कारोबार बढ्दै गएको छ । वामी टक्सार बजारका व्यवसायीहरुले प्रतिवर्ष सरदर ४० लाख रुपैयाँसम्मको झिनिया रोटीको कारोवार हुने गरेको बताउँछन् ।
उत्पादित झिनिया बाग्लुङ, बुटवल, अर्घाखाँची लगायतका ठाउँहरुमा खपत हुने गरेको स्थानीय व्यापारीको भनाइ छ । कम परिश्रम र लगानीबाट आफ्नो घरमा फुर्सदको समयमा उत्पादन गर्न सकिने भएकाले झिनिया रोटीको व्यापारप्रति आर्कषण बढेको श्रेष्ठ बताउनुहुन्छ । रासस
No comments:
Post a Comment