Tuesday, November 3, 2015

कालाबजारीलाई कारबाही गर्न भूकम्पपीडित डेरावालको माग

काठमाडौँ, १७ कात्तिक । भाडावाला सरोकार समाजले भारतको अघोषित नाकाबन्दीका कारण जनता मारमा परेका बेला बढी मूल्य लिई सामान बिक्री गर्ने कालाबजारीलाई कारबाही गर्न माग गरेको छ ।

विनासकारी भूकम्पले मारमा परेका जनतालाई अहिले नाकाबन्दीले थप समस्या उत्पन्न भएकाले कूटनीतिक माध्यमबाट यथासम्भव चाँडो समस्या समाधान गर्न समाजले माग गरेको हो ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष विष्णुजङ्ग बस्नेतले भूकम्पमा घरधनीले क्षतिपूर्ति पाएको र लाखाँैको सङ्ख्यामा भाडामा बस्ने नागरिकले क्षतिपूर्ति पाउन नसकेको अवस्थामा अघोषित नाकाबन्दीले तेल, ग्यासलगायतको अभावले जीविकोपार्जनमा समस्या आएकाले समस्या समाधान गर्न सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले घरधनीले कोठामा दाउरालगायतका वैकल्पिक इन्धन प्रयोग गर्न नदिँदा समस्या विकराल बनेको भन्दै यसलाई तत्काल समाधान गरेर भाडावालाको बाँच्ने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि सबै भाडावालालाई एकजुट हुन आग्रह गर्नुभयो ।

समाजका उपाध्यक्ष जगत तामाङले भाडावाला भूकम्प, नाकाबन्दी र घरबेटीका कारण पीडामा परेका बेला सरकारले दैनिक श्रम गरेर खाने डेरावाला र भाडामा कोठा लिएर व्यवसाय गर्नेलाई संरक्षण गर्न माग गर्नुभयो ।

समाजले ग्यास र तेलसहितका आवश्यक दैनिक सामग्रीको अहिले अभाव हुँदै गएकाले तत्काल त्यसको प्रबन्ध मिलाउन, भूकम्पपीडित डेरावालालाई क्षतिपूर्ति दिनुपर्ने, भाडावाल आयोग गठन गर्नुपर्नेलगायत माग गर्दै आएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts