Friday, November 6, 2015

डेरावासीको जीवन दालमोठ चिउराको भरमा

भक्तपुर, २० कात्तिक । इन्धन अभाव चुलिएपछि अरुको घरमा डेरागरी बस्ने डेरावासीले जीवन दालमोठ, चिउराले धान्न थालेका छन् ।

ग्यास सकिएपछि दाउरा बालेर खाना पकाउन घरमालिकको अनुमति नपाएपछि अधिकांश डेरावासी दालमोठ चिउराको भरमा बस्नु परेको हो । सूर्यबिनायक नगरपालिका सूर्यबिनायक चोकमा डेरा गरी बस्ने गोरखाका अमरनाथ कार्कीले तीन दिनदेखि दालमोठ चिउराको भरमा बस्नु परेको बताउनुभयो ।

“ग्यास छैन, घरबेटीले घर कालो हुन्छ, दाउरा बाल्न दिन्न भनेपछि दालमोठ चिउराको भरमा बस्नु परेको छ” उहाँले भन्नुभयो । चार जनाको परिवारमा ९ वर्षको छोरा र १२ वर्षकी छोरीलाई समेत दालमोठ चिउराको भरमा राख्नु परेको उहाँले गुनासो गर्नुभयो ।

तिहार बिदामा घर जाने सोचाइ बनाए पनि गाडी नपाउने डरले थप समस्या आएको बताउँदै घर जानका लागि सरकारले गाडीको व्यवस्था गरिदिए सहज हुने उहाँको भनाइ छ ।

भक्तपुर सिर्जना नगरमा बस्ने उर्मिला नेपालको समस्या पनि उस्तै नै छ । चार वर्षदेखि एउटै घरमा बसेका घरबेटीले दाउरा नबाल्नु भनेपछि ल्याएको चुलोसमेत यत्तिकै रहेको बताउँदै उहाँले चार दिनदेखि नै दालमोठ, चिउरा, चाउचाउ र बिस्कुटको भरमा बस्नु परेको बताउनुभयो ।

तीन वर्षको छोरा निकेतलाई चिसो पानीमा चिनी हालेर चिउरा, बिस्कुट भिजाएर खुवाउनु परेको बताउँदै उहाँले आफूहरुले भने अचारसँग चिउरा खाएर बसेको बताउनुभयो । “ग्यास खोज्न धेरै ठाउँ गयाँै तर पाइएन, श्रीमान्ले अफिसको क्यान्टिनबाट कहिलेकाही तरकारी ल्याउनुहुन्थ्यो, त्यो पनि बन्द भयो, चिउरा खाएर बस्नुपरेको छ ।”

अहिले सहरका अधिकांश डेरावासीको समस्या यस्तै रहेका छन् । ग्यास सिद्धिएका घर मालिक कौसीमा खाना पकाएर खाने गरेपनि डेरावासीलाई भने दाउरा बालेर खाना पकाउन घरबेटीले प्रतिबन्ध लगाएका छन् । मध्यपुरथिमि शङ्खधर चोकका माधव श्रेष्ठ आफ्नै घरको कौसीमा भुसे चुलोमा खाना बनाएर खाएको एकसाता भएको बताउनुहन्छ । आपूmले कौसीमा खाना बनाएर खाए पनि डेरावासीलाई भने आगो बाल्न नदिएको उहाँ बताउनुहुन्छ ।

“घरको कोठैपिच्छे भाडामा बस्ने मान्छे छन्, दाउरा बाल्न दिने हो भने सिंँगै घर धुँवाले कालो हुन्छ, महँगो रङ्ग लगाएको के काम, आगो बाल्न त दिन्नाँै” उहाँले भन्नुभयो ।

बालकोट चोकमा डेरामा बस्ने सर्मिला पाठकको अवस्था पनि उस्तै नै छ । एक सातादेखि ग्यास सकिएर कहिले चिउरा, कहिले चाउचाउ त कहिले बिस्कुट खाएर बसेको बताउँदै उहाँले ग्यासको अभाव र घरमालिकको व्यवहारले समस्या पारेको बताउनुभयो ।

बजारमा खुलेका होटल, रेष्टुराँ, खाजा घरसमेत बन्द भएपछि ग्यास सकिएका डेरावासीको समस्या झन झन जटिल बन्दै गएको छ । अधिकांश डेरावासीले ग्यास अभावको समस्यामा जेलिएकाले सवारी साधन पाए छिट्टै गाउँ फर्किने तयारी गर्न थालेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts