Friday, November 6, 2015

अपाङ्ग छोरा शिक्षक, दलित आमा विद्यार्थी

बेलौरी (कञ्चनपुर), २० कात्तिक । ललित नेपाली कञ्चनपुरको बेल्डाँडी नगरपालिका–२ सिंहपाल टोलमा बस्छन् । २४ वर्षीय ललित नेपाली अपाङ्ग हुन् । उनका चारै हातखुट्टा अपाङ्ग छन् ।

ललितका दुबै हात जन्मजातै अपाङ्ग थिए । त्यसपछि २०६४ सालतिर उनको घर हात्तीले भत्काउँदा फेरि दुबै खुट्टा च्यापिएर ललितका चारै हातखुट्टा अपाङ्ग बने । यसरी चारै हातखुट्टा अपाङ्ग भए पनि उनको मन, कला, ज्ञान र सीप भने साङ्गभन्दा कम छैन । ललितले कक्षा ८ सम्म गाउँकै रौलेश्वर उच्च माध्यमिक विद्यालयमा अध्ययनपश्चात् उपचार गर्ने सिलसिलामा छिमेकी मुलुक भारततिर लागे । उपचारसँगसँगै उनले त्यहाँ पनि अध्ययन गर्न छाडेनन् ।

ललित भारतमा स्नातकोत्तर दोस्रो वर्षमा अध्ययन गर्न लागेका छन् । उनका बुबा भारतमै रोजगारी गर्छन् । आमासहित अन्य परिवारका सदस्य बेल्डाँडी नगरपालिका–२ सिंहपाल दलित समुदायको बस्तीमा बस्दै आएका छन् । सो दलित समुदायमा उच्च शिक्षा पढेका कोही पनि छैनन् । परिवारको आर्थिक अवस्था दयनीय भएपछि सो गाउँका दलित समुदायका सन्तान बाध्य भएर ४÷५ कक्षासम्म मात्रै पढेर रोजगारीका लागि भारत जाने गरेका छन् । सरकारले दुई वर्षअघि निरक्षर उन्मूलनका लागि ग्रामीण बस्तीसम्म अनौपचारिक साक्षरता कक्षा सञ्चालन ग¥यो । सो बस्तीमा दलित समुदायका सबै महिला अशिक्षित थिए । प्रौढ शिक्षा पढाउनका लागि साबिक बेल्डाँडी गाविसले शिक्षक दरखास्त आह्वान गरेपछि ललितले दरखास्त दिए ।

उनी सो समुदायका महिलालाई प्रौढ शिक्षा पढाउनका लागि शिक्षक छनोट भएपछि आफ्नो समुदायका महिलाको बिजोग अवस्था देखेर उनले सिद्धान्तभन्दा पनि व्यावहारिक रुपमा निकै मिहेनत गरेर पढाउन सुरु गरे । “दलित समुदायका महिला नपढेकाले उनीहरुलाई सुरु सुरुमा पढाउन मुस्किल भयो”, ललितले भन्नुभयो । “पछि बिस्तारै सबै महिलालाई एक–एक गरेर पढाएँ ।” सो समुदायका ४० जना दलित महिलालाई पढाउनुपर्ने कोटा भए पनि ललितले दलित महिला पिछडिएको भन्दै ६५ जना दलित महिलालाई प्रौढ शिक्षा पढाएको स्वयम् महिला नै बताउँछन् । आफ्नै जन्मदिने आमा पद्मा नेपालीसहितका ६५ जना दलित महिलालाई उनले पढाए ।

प्रौढ शिक्षा लिनुभन्दा पहिले दुई चार मानिससँग बोल्नसमेत डराउने सोही समुदायका दलित महिला अहिले निकै सचेत भएका छन् । ललितकी आमासहित सबै दलित समुदायका महिला अहिले दस्तखत गर्नसक्ने भएका छन् । प्रौढ शिक्षा पढेकी सोही समुदायकी मिजा जुनारले प्रौढ शिक्षा पढ्नुभन्दा पहिले आफूहरु ल्याप्चा भएको बताइन् । उनले भनिन्–“आजभोलि सबैले राम्रोसँग दस्तखत हान्छौँ, आफ्नै समुदायको शिक्षक हुँदा हामीले निर्धक्क भएर धेरै कुरा सिक्यौँ ।” शिक्षा भन्ने चीज बेग्लै रहेको समेत जुनाले अनुभव गरिन् । आफूहरुले प्राप्त गरेको ज्ञान व्यावहारिक रुपमा लागू गरेको उनको दाबी छ । प्रौढ शिक्षा पढेसँगै उनी विभिन्न दलित महिला सङ्घसंस्थामा समेत आबद्ध छिन् ।

दलित महिला सङ्घ बेल्डाँडीकी अध्यक्षसमेत रहेकी जुनारले अहिले आफ्नो समुदायको हकअधिकारका लागि सरकारी अड्डासम्म समेत धाउँदैछिन् । जुनार आफूमा आएको परिर्वतनको सबै श्रेय ललितलाई दिन चाहन्छिन् । “उमेरले हाम्रो छोरा बराबर भए पनि उसले हामीलाई निकै मिहेनत गरेर पढायो, आज हामीलाई समाजका अगाडि बोल्न सिकायो”, उनले भनिन् । सोही दलित समुदायकी अर्की महिला चन्द्रा सुनारले पनि तीनमहिने प्रौढ शिक्षा पढेपछि धेरै सिकेको बताइन् ।

पहिले नम्बर, नोट र पैसासम्म नचिन्ने नजान्ने महिला प्रौढ शिक्षापछि जान्ने सुन्ने सचेत भएको चन्द्राको अनुभव छ । “प्रौढ शिक्षापछि हामी विद्यालय गएको जस्तो आभास भयो”, उनले भनिन्, “राम्रो शिक्षक पाउँदा आज हामी ढुक्क भएर दस्तखत हान्ने भएका छौँ ।” उनीहरुका सबैका श्रीमान् वैदेशिक रोजगारीका लागि भारतमा छन् । उनीहरु सहजै रुपमा सामान्य घरायसी हिसाब–किताब गर्नसमेत सक्षम भएका छन् । ललित अपाङ्ग भए पनि आफूहरुलाई आँखा दिएको उनीहरुको भनाइ छ । अहिले सो बस्तीका दलित महिला ललितको गुणगान गाउँँछन् ।

गाउँका महिलालाई सचेत बनाएकामा ललित पनि खुसी छन् । आफू अपाङ्ग भए पनि समाजका लागि केही गर्न सक्छु भन्ने ललितमा आँट छ । “दलित भन्ने बित्तिकै सबैले हेप्छन्, शिक्षाको अभावका कारण दलित महिला अझै पनि पछाडि नै छन्”, उनले भने, “दलित महिलालाई अगाडि ल्याउनका लागि राज्यले शिक्षा दिनुपर्छ ।” ललितलाई अहिले अवसरको खाँचो छ । अवसर नपाउँदा उनी तड्पिएका छन् ।

नेपालमा आफूलाई ‘ग’ वर्गको अपाङ्गताको परिचयपत्र दियो, तर भारतमा ‘क’ वर्गको परिचयपत्र दिएको उनले बताउनुभयो । भारतमा ‘क’ वर्गको परिचयपत्र पाएपछि आफूलाई त्यहाँको समाज कल्याण मन्त्रालयले ह्विलचियर दिएको बताउनुभयो । ललित त्यही ह्विलचियर प्रयोग गर्दै आफ्नो दिनचर्या काट्दैछन् ।

होजियारी उद्योगसम्बन्धी आफूलाई राम्रो ज्ञान भएको बताउँदै नेपालमा लगानीबिना खोल्न नसकेको उनको दुःखेसो छ । “म अवसरको खोजीमा छु, अवसर पाए समाजका लागि केही गर्ने मेरो धोको छ”, उहाँले भन्नुभयो । आफू अपाङ्ग भएपनि मन अपाङ्ग नभएको भन्दै अपाङ्गले समेत आफ्नो र समाजका लागि केही गर्न सक्ने ललितले उदाहरण दिएका छन् । यस्तै, ग्रामीण भेगका अपाङ्ग अवसरबिना वञ्चित हुनु परेको छ । राज्यले समेत यस्ता शिक्षित अपाङ्गता भएका व्यक्तिलाई अवसर दिनुपर्छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts