काठमाडौँ, ११ मङ्सिर । कृषि विकास मन्त्री हरिबोल गजुरेलले साना तथा मझौला कृषकलाई केन्द्रबिन्दुमा राखी कृषि विकास कार्यक्रम अगाडि बढाइने बताउनुभएको छ ।
कृषि विकास मन्त्रालयले आज सिंहदरबारमा किसानका प्रतिनिधि तथा कृषि विज्ञका रचनात्मक सुझाव सङ्कलन गर्ने उद्देश्यले आयोजना गरेको सुझाव सङ्कलन कार्यक्रममा उहाँले आगामी तीन वर्षभित्र नेपाल कृषिमा आत्मनिर्भर हुने विश्वास दिलाउनुभयो ।
मन्त्री गजुरेलले नेपालको संविधान २०७२ ले खाद्यान्न जनताका मौलिक हकभित्र समावेश गरेको हुँदा उत्पादकत्व बढाउन सरकारले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण, व्यवसायीकरण र विविधीकरण गर्दै लैजाने नीति लिएको जानकारी दिनुभयो ।
कार्यक्रममा कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले भूमिहीन तथा सिमान्तकृत कृषकका लागि सामूहिक तथा करार खेतीमा आधारित भई जग्गा भाडामा उपलब्ध र उत्पादनको बिक्री वितरणलाई एकीकृत प्याकेज कार्यक्रम बनाउँदै बजारसम्म पु¥याउने नीति सरकारको रहेको जानकारी दिनुभयो ।
सहसचिव योगेन्द्रकुमार कार्कीले विनाशकारी भूकम्प तथा अघोषित नाकाबन्दीले पु¥याएको क्षतिलाई मन्त्रालयले राहत तथा पुनःस्थापनाको क्रियाकलाप सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।
कार्यक्रममा रामपुर कृषि क्याम्पसका प्रमुख श्यामसुन्दर पन्तले भूमिहीन, कृषि मजदुर, सिमान्तकृत किसान र कृषिमा निर्भर गरिखाने वर्गको हितमा योजना बनाउन सरकारलाई सुझाव दिनुभयो ।
पूर्वमन्त्री केशव बडालले सिँचाइ कृषिका आधार भएको बताउँदै पहाडमा हजाराँै पोखरी निर्माण गर्न सरकाले तल्लो तहका कृषकलाई रकम उपलब्ध गर्न आग्रह गर्नुभयो ।
सो अवसरमा कृषि उद्यमी दिपकप्रसाद पौडेलले रैथाने जातका बीउ जोगाउन सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने उल्लेख गर्नुभयो ।
राष्ट्रिय कृषक समूह महासङ्घका अध्यक्ष उद्धव अधिकारीले साना तर गरिखाने कृषकलाई कृषिको आधार नमानेसम्म कृषिको विकास नहुने बताउनुभयो । रासस
No comments:
Post a Comment