Sunday, November 8, 2015

पुनःनिर्माण प्राधिकरणमा सहकार्यमा आउन प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौँ, २२ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण विधेयकलगायतका विषयमा आफू सहकार्य गर्न तयार रहेको प्रस्ताव प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँग राख्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको प्रमुख तीन दलको बैठकमा प्रधानमन्त्री ओलीले जाडो मौसमसमेत लागिसकेका अवस्थामा भूकम्पपीडितको आवासलगायत पुनःनिर्माणका कामलाई प्राथमिकता दिन संसद्मा विचाराधीन विधेयकमा सहमति गरी प्राधिकरण गठनमा सहकार्य गर्न प्रस्ताव गर्नुभएको हो । सो विधेयक अघिल्लो सरकारको पालामा संसद्मा पेस भएको थियो ।

प्रधानमन्त्रीको प्रस्तावमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेताहरुले आफ्ना दलमा आन्तरिक छलफल गरेर जवाफ दिने जनाउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताउनुभयो ।

छलफलमा नेकपा (एमाले) बाट प्रधानमन्त्री तथा सो पार्टीका अध्यक्ष ओली, उपाध्यक्ष तथा उपप्रधानमन्त्री भीमबहादुर रावल र मन्त्री अग्निप्रसाद खरेल, एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलालगायत हुनुहुन्थ्यो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts