Tuesday, November 17, 2015

‘फिल्म साउथ एसिया–२०१५’

काठमाडौँ, १ मङ्सिर । दक्षिण एसियाका विभिन्न मुलुकले निर्माण गरेको ‘नन् फिक्सन’(वृत्तचित्र) फिल्म महोत्सव ‘फिल्म साउथ एसिया–२०१५’ यही मङ्सिर ३ गतेदेखि सुरु हुने भएको छ ।

साउथ एसिया ट्रस्टले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा फिल्म महोत्सवले नदेखिएका, नसुनिएका विभिन्न खालका घटनालाई महोत्सवमार्फत देखाउने जमर्को गरेको बताइएको छ ।

ट्रस्टका प्रमुख तथा नेपाली पत्रकार कनकमणि दीक्षितले नेपालमा विभिन्न मुलुकले आयोजना गर्ने अन्तर्राष्ट्रियस्तरका महोत्सव हुने गरेको बताउँदै नेपालले नै आयोजना गरेको निकै कम महोत्सवमध्ये यो एउटा महत्वपूर्ण महोत्सवको रुपमा लिनुपर्ने बताउनुभयो ।

‘‘काठमाडौँमा नन् फिक्सन फिल्मका दर्शक उल्लेख्य छन्’’, उहाँले भन्नुभयो– “कैयौँ घन्टा, दिन, महिना र वर्ष लगाएर छायाङ्कन गर्ने र एक घन्टामा सीमित गरी चलचित्रको रुप दिइने नन् फिक्सन फिल्मको महत्व काठमाडौँका दर्शकले बुझेकाले यो महोत्सव सफल हुने विश्वास लिएका छौँ ।”

महोत्सवका निर्देशक तथा दक्षिण एसियाली पत्रकार नितु भर्माले नेपालले भोगिरहेको अहिलेको समस्याका बाबजुत नेपाली दर्शकको साथ महोत्सवमा हुने विश्वास व्यक्त गर्नुभयो ।

महोत्सवमा नेपाल, भारत, अफगानिस्तान, श्रीलङ्का, मलेसिया, पाकिस्तान र बङ्गलादेशका ४३ नन् फिक्सन चलचित्र भिड्ने छन् । महोत्सवमा उत्कृष्ट हुने चलचित्रले दुई हजार अमेरिकी डलर प्राप्त गर्नेछ भने दोस्रो हुने चलचित्र र उत्कृष्ट नयाँ चलचित्रले एक÷एक हजार अमेरिकी डलर जित्नेछ ।

चलचित्र छनोट समूहमा भारतका पनिरसेल्भन, श्रीलङ्काका अनोमा राजाकारुना र नेपालका नारायण वाग्ले रहनुभएको छ ।

उक्त दशौँ चलचित्र महोत्सवको समापन यही मङ्सिर ६ गते हुनेछ । पाटनढोकास्थित यलमाया केन्द्र, कमलपोखरीस्थित कुमारी सिनेमा हल र रसियन कल्चर सेन्टरमा चलचित्र देखाइनेछ । चलचित्र हेर्नका लागि रु ५० को टिकट लाग्नेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts