Sunday, November 1, 2015

विश्वविद्यालय र कोषबीच ‘उपदान तथा निवृत्तिभरण कोष’ सम्बन्धी सम्झौता

काठमाडौँ, १५ कात्तिक । नागरिक लगानी कोष र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीच आज ‘उपदान तथा निवृत्तिभरण कोष’ सञ्चालन एवम् प्रबन्ध गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र विश्वविद्यालयको तर्फबाट रजिस्टार प्रा डा सूर्यकान्त घिमिरेले हस्ताक्षर गर्नुभएको कोषका सूचना अधिकृत उद्धव सिलवालले जानकारी दिनुभयो ।

सम्झौतामा स्थायी शिक्षक, कर्मचारीको मासिक तलवबाट १० प्रतिशतका दरले कट्टा गरेको रकममा विश्वविद्यालयको तर्फबाट सोही रकम बराबर थप गरी कोषमा एकमुष्ठ रकम जम्मा गर्ने व्यवस्था गरिएको छ ।

दुई दिनमा रु साढे तीन अर्ब सङ्कलन

यसैबीच, जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले सेयर निस्काशन गरेको दुई दिनमा रु तीन अर्ब ३५ करोड सङ्कलन भएको छ ।

कम्पनीले यही कात्तिक १२ गतेदेखि रु एक अर्ब ८६ करोडको साधारण सेयर जारी गरेकामा सो अवधिमा देशभर ३१ वटा विभिन्न सङ्कलन केन्द्रबाट सो रकम जम्मा भएको हो ।

काठमाडौँ उपत्यका बाहिरका सङ्कलन केन्द्रबाट एक लाख २५ हजार र उपत्यकाका सङ्कलन केन्द्रबाट दुई लाख ७५ हजार सेयरका फारम वितरण भइसकेको छ ।

यो अवधिमा करिब ४० हजार फारममात्रै सङ्कलन भएको छ । ग्राहकको मागलाई ध्यानमा राखी फारम छपाई तथा वितरणको कार्यसँगै भइरहेको कम्पनीले जनाएको छ ।

जलविद्युत् विकास कम्पनीको सेयर निस्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष, सह निस्काशन तथा बिक्री प्रबन्धक एनसिएम मर्चेन्ट बैंकिङ तथा एनएमवी क्यापिटल लिमिटेड रहेका छन् । रासस 

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts