Saturday, November 7, 2015

कीर्ते नागरिकता बनाउने पाँचजना राजविराजबाट पक्राउ

सप्तरी, २१ कात्तिक । कीर्ते गरी नेपाली नागरिकता बनाउने एक गिरोहका पाँचजनालाई सप्तरी प्रहरीले पक्राउ गरी आज साँझ सार्वजनिक गरेको छ ।

राजविराज–४ स्थित दीप साजन लजमा नागरिकता लिने र नागरिकता बनाउने व्यक्तिहरुबीच कुराकानी भइरहेको विशेष सूचनाका आधारमा उनीहरुलाई सोही लजबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक भीम ढकालले आज साँझ जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार समेलन गरी सार्वजनिक गर्दै बताउनुभएको छ ।

उनीहरुका साथबाट नेपाली नागरिकता बनाउन प्रयोग हुने कार्ड, जिल्ला प्रशासन कार्यालय सप्तरीको छाप, प्रशासकीय अधिकृतको छाप, रजिस्टरलगायतका कागजात तथा सामग्रीसहित पक्राउ गरिएको बताइएको छ ।

पक्राउ पर्नेमा राजविराज– ५ बस्ने ५२ वर्षीय वकिल झा, कुसहा गाविस–९ बस्ने ५९ वर्षीय राजेन्द्रप्रसाद चौधरी, तिलाठी गाविस–३ बस्ने ५५ वर्षीय चादुचन्द्र मिश्रा, भारतको उत्तर प्रदेश घर भई हाल बुटवल– १३ बस्ने २२ वर्षीय सञ्जीव मियाँ र भारतको उत्तर प्रदेश सिद्वार्थनगर घर भई बुटवल–३ बस्ने अकबर साह छन् ।

प्रहरीले भारतीय नागरिक अकबर साहको नागरिकता झा, चौधरी र मिश्राले बनाइरहेको अवस्थामा उनीहरु रङ्गेहात पक्राउ परेको प्रहरीले जनाएको छ ।

सञ्जीव मियाँले यसअघि २०७० सालमै आफ्नोसहित भाइ जमशेर मियाँको नाममा यही गिरोहबाट रु ५० हजार तिरेर नागरिकता लिएको खुलेको प्रहरी उपरीक्षक ढकालले बताउनुभयो । सञ्जीवकै साथ लागेर अकबर नागरिकता बनाउन राजविराज आएको र रु ६० हजारमा कुरा भई रु १५ हजार वकिल झालाई दिएको प्रहरीले जनाएको छ ।

यस्तो कीर्ते नागरिकता बनाउने प्रमुख व्यक्तिको पहिचान भइसकेको र उनको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक नारायण चिमरियाले अभियुक्तहरुले गरेको कार्य कीर्ते नागरिकता, ठगी तथा सरकारी छाप दस्तखत कीर्ते आकर्षित हुने हुँदा सोही मुद्दामा थप अनुसन्धान कार्य सुरु गरिएको बताउँदै यो कार्यमा सरकारी कर्मचारीको पनि संलग्नता भएको हुनसक्ने भन्दै छानबिन सुरु गरिएको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts