काठमाडौँ, २५ मङ्सिर । भारतले अघोषित रुपमा नाकाबन्दी जारी राखेको भन्दै सर्वत्र चर्को आलोचना भइरहेको बेला प्रमुख दलका केही नेताहरुका लागि आज नेपालका लागि भारतीय राजदूत रणजित रायले दिवाभोजको आयोजना गर्नुभयो ।
भारतीय दूतावास लैनचौरमा आयोजित उक्त दिवाभोजमा सत्तारुढ, प्रमुख प्रतिपक्षी दलका नेता एवम् सांसदहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा नेपाल र भारतबीच पछिल्लो दिनमा देखिएको असहज अवस्थाका विषयमा सामान्य कुराकानी भएको भोजमा सहभागी नेताले जानकारी दिनुभएको छ । उहाँहरुले नेपाल भारतबीचको सम्बन्ध सदियौँ पुरानो भएकाले त्यसलाई आपसी विश्वासका आधारमा सौहार्द बनाउनुपर्नेमा जोड दिएको बताउनुभयो ।
भोजमा नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डे, एकीकृत नेकपा (माओवादी)का प्रभु साह, नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, अमरेशकुमार सिंह, सद्भावना पार्टीका लक्ष्मणलाल कर्णलगायतको उपस्थिति रहेको थियो ।
भोजमा सहभागी नेपाली काँग्रेसका नेताद्वय विमलेन्द्र निधि र आनन्दप्रसाद ढुङ्गानाले सामान्य दिवाभोजको आयोजना गरिएको आफूहरुलाई आमन्त्रण गरिएकाले सहभागी भएको जानकारी दिनुभयो ।
संसद् भवन नयाँ बानेश्वरमा संवाददातासँग बोल्दै उहाँहरुले नेपाल भारत सम्बन्ध र पछिल्लो दिनमा देखा परेको समस्याका विषयमा सामान्य छलफल भएको बताउनुभयो । दिवाभोजमा सहभागी भएका अन्य नेताले भने कुनै प्रतिक्रिया दिन चाहनुभएन ।
सो अवसरमा राजदूत रायले भने नेपाल र भारतको विषयमा सामान्य धारणा राख्नुभएको बुझिएको छ । रासस
No comments:
Post a Comment