काठमाडौँ २५ मङ्सिर । सर्वाधिक पुरस्कार राशि भएको ढोरपाटन राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ)ले लगातार नवौँ जित दर्ता गर्दै आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।
नयाँ बसपार्कमा आज भएको उक्त प्रतियोगितामा एपिएफले विभागीय टोली नेपाल प्रहरी क्लबलाई २५–१८, २५–१५ र २५–१६ बाट लगातार पराजित गरेको हो । प्रतियोगितामा जितसँगै २७ अङ्क जोडेको एपिएफ लिगको शीर्ष स्थानमा छ ।
त्यस्तै सोही स्थानमा आजै भएको अर्को खेलमा न्यु डायमन्ड क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २५–७, २५–१९ र २५–१६ बाट लगातार पराजित गर्दै विजयी भएको छ । जितसँगै न्यु डायमन्ड २१ अङ्कका साथ लिगको दोस्रो स्थानमा छ ।
त्यसैगरी आजै भएको अन्य खेलमा बुटवलको एभरेस्ट बोर्डिङ स्कुलले विजेश्वरी ज्ञान मन्दिरलाई २५–९, २५–८ र २५–३ ले पराजित गरेको छ । त्यस्तै चण्डेश्वरी क्लबले जानकरी विद्या मन्दिरलाई ३–१ सेटमा पराजित ग¥यो । चण्डेश्वरीले २५–११, १५–२५ र २५–१५ ले जानकीलाई पराजित ग¥यो ।
ढोरपाटन स्पोर्टस क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा १३ टोलीको सहभागिता छ । प्रतियोगिताको विजेता टोलीले रु दुई लाख ६० हजार तथा उपविजेता टोलीले रु एक लाख ३० हजार पाउनेछन् ।
लनटेनिस खेलाडीको टुङ्गो
भारतमा हुने बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा सहभागी हुने महिला लन टेनिस खेलाडीको आज टुङ्गो लागेको छ । सात दोबाटोस्थित टेनिस कोर्टमा भइरहेको छनोट प्रतियोगितामा शीर्ष चार स्थान हात पार्ने लनटेनिस महिला खेलाडी सागका लागि छनोट भएका हुन ।
राउन्ड रोविन लिगमा इरा रावत पहिलो हुँदै छनोट भइन् । आठ खेलाडी सहभागी उक्त छनोट प्रतियोगिता अन्तर्गत महिलातर्फको स्पर्धामा इरा आफ्नो अन्तिम खेलमा प्रेरणा कोइरालालाई ६–१ र ६–० ले पराजित गरेपछि प्रतियोगितामा छनोट हुन सफल भएकी हुन् ।
त्यसैगरी छनोट हुने अन्य खेलाडीमा गङ्गा शर्मा, विभूति कार्की तथा विजिशा श्रेष्ठ छन् । उनीहरू क्रमशः दोस्रो, तेस्रो र चौथो हुँदै प्रतियोगिताका लागि छानिएका हुन् ।
अखिल नेपाल लन टेनिस सङ्घले आयोजना गरेको उक्त छनोट प्रतियोगिता अन्तर्गत पुरुष खेलाडीको टुङ्गो भने यही मङ्सिर २८ गते लाग्नेछ । रासस
No comments:
Post a Comment