खोटाङ, १८ मङ्सिर । रोजगारीको शिलसिलामा प्रवासमा रहेका खोटाङ्गे युवाले विद्यालय सञ्चालनका लागि रकम सङ्कलन सुरु गरेका छन् ।
रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेका खोटाङ्गे युवाले नवज्योति प्रावि नुनथला–८ गैरीका लागि सहयोग रकम सङ्कलन सुरु गरेका हुन् ।
‘सहयोगी मनहरु’ नामक फेसबुक ग्रुप बनाएर दुई महिना अघिदेखि रकम सङ्कलन सुरु गरिएको नुनथला घरभइ हाल मलेसियामा रहनुभएका चिसाङ शेर्पाले बताउनुभयो ।
“आर्थिक अभावमा विद्यालय सञ्चालन गर्न समस्या भएको व्यवस्थापन समितिबाट जानकारी पाइयो ।” उहाँले भन्नुभयो, “प्रवासमा रहेर पनि केही सहयोग गर्न सकिन्छ कि भनेर सहयोग रकम सङ्कलन गरिएको हो ।”
शेर्पाको पहलमा मलेसियादेखि सुरु गरिएको अभियान अहिले कतार, साउदी, दुबईलगायतका मुलुकमा सञ्चालन भइरहेको छ । अभियान अन्तरगत हालसम्म रु ६३ हजार ८७५ सङ्कलन भइसकेको अभियन्ता शेर्पाले जानकारी दिनुभयो ।
विद्यालयका लागि शैक्षिक तथा खेलकुद सामग्री खरिद, शिक्षक तलब भत्ता व्यवस्थापन र विद्यार्थीमुखी चेतनामूलक कार्यक्रम सञ्चालन गर्न दिनेगरी सहयोग रकम प्रदान गर्ने तयारी गरिएको कतारमा रहनुभएका अर्का अभियन्ता रविन शेर्पाले बताउनुभयो ।
“शिक्षाजस्तो संवेदनसिल क्षेत्रमा सहयोग गर्न फेसबुकमार्फत सबैलाई अनुरोध गरिएको छ ।” उहाँले भन्नुभयो, “हामीले थालेको अभियानमा सबैले साथ दिएका छन् ।”
अभियानमा सामेल हुन तथा सहयोग गर्न चाहनुहुनेहरूले मलेसियामा चिसाङ शेर्पा र कतारमा रविन शेर्पासँग समन्वय गर्न सकिनेसमेत जनाइएको छ । आगामी डिसेम्बर अन्तिमसम्ममा सङ्कलित रकम विद्यालयको खातामा जम्मा गरिने अभियन्ताले बताएका छन् । रासस
No comments:
Post a Comment