रत्ननगर (चितवन), १९ मङ्सिर । चितवन मेडिकल कलेजमा निःशुल्क मुटुरोग शिविर शुरु भएको छ ।
अमेरिका र नेपालका विशेषज्ञको संलग्नतामा आज बिहानदेखि शिविर सुरु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिनुभयो ।
उहाँका अनुसार मुटुरोग लागेका जटिल बिरामी, मुटुसम्बन्धी पुराना बिरामी, मुटुको शल्यक्रिया गरेका बिरामीलाई लक्षित गरेर शिविर सुरु भएको हो ।
शिविरमा अमेरिकाको कोलोराडो विश्वविद्यालयका विशेषज्ञ टिमको समेत सहभागिता रहेको छ । उक्त विश्वविद्यालयका मुटुरोग विशेषज्ञ डा फ्रेड ग्रोभरको नेतृत्वमा नौ जनाको विज्ञ टोली यहाँ आएको छ ।
यस्तै नेपालका मनमोहन अस्पताल, गङ्लालाल अस्पताल, शिक्षण अस्पतालमा विशेषज्ञ चिकित्सकसहितका सात जना विज्ञहरुले समेत उक्त शिविरमा स्वास्थ्य परीक्षण गरिरहेका छन् । मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाको समेत शिविरमा सहभागिता छ ।
शिविरका लागि यहाँ एकसाता देखिनै बिरामीले नाम दर्ता गराएको निर्देशक डा लम्सालले बताउनुभयो । सम्बन्धित चिकित्सकले सिफारिस गरेका र नाम दर्ता गराएका बिरामीको यहाँ निःशुल्क उपचार हुने अस्पतालले जनाएको छ ।
शिविरबाट ५०० भन्दा बढी बिरामीले सेवा लिने लक्ष्य राखिएको छ ।रासस
No comments:
Post a Comment