काठमाडौँ, २० मङ्सिर । सतसट्ठिऔँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवससम्बन्धी छलफलमा एक महिला आफ्नै अधिकारका लागि याचना गर्दै थिइन् । काठमाडौँमा हुने सातौँ मानवअधिकार राष्ट्रिय महाभेलाको तयारीका अवसरमा आयोजित छलफलमा दाङको तुलसीपुर–५ निवासी सोनु नेपाली (भुषाल) आफ्नो अधिकारका लागि याचना गर्न लाग्दा भक्कानिएर आफ्ना भनाइ त्यसै अन्त्य गर्न पुगिन् ।
सामान्य लेखपढ मात्र भएकी उनले फेरि भनिन्–“मलाई आफ्नै लोग्नेले माइतीको सम्पत्ति हडप्नुका साथै ११ वटा मुद्दामा फसाई घर न घाटको बनाएर छोडिदियो ।”
भन्सार कार्यालयमा कार्यरत टोपबहादुर नामका उनका लोग्नेले आफू एक छोरीको आमा भएको थाहा पाउँदापाउँदै पनि विवाहका लागि प्रस्ताव गरेर चार वर्षसम्म कोठामा लगेर राख्यो, केही वर्षसम्म कोठामै बिताउँदा पनि विवाह भने गरेन । आफूलाई ढाँटी पहिलो विवाह गरिसकेको उसले माइतीपक्षको दबाबमा विवाह गरे पनि सहज बनाएन र घरेलु हिंसाबाट प्रताडित हुनुप¥यो ।
तल्लो स्तरको गालीगलौजका साथै बारम्बारको घरेलु हिंसा सहन नसकेकी सोनुले भनिन्– “तीन वर्षअघि राष्ट्रिय महिला आयोगमा उजुरी दिँदा तत्कालीन सदस्य महोना अन्सारीलगायतले यो मुद्दाकै कारण तिमीलाई पछि लोग्नेले विभिन्न बहानामा सताउने त्रास देखाए । अन्तमा उनीहरूले तीन महिनाभित्र रु १४ लाख दिएर सम्बन्धविच्छेद गर्न सुुझाव दिए ।”
तीन महिनापछि पनि रकम दिनुको साटो फेरि घरेलु हिंसाले सताएकाले काठमाडौँ जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेँ । उक्त अदालतले मिलापत्र गर्न छ महिनासँगै रहन सुझाव दियो । कुरा मिलेकाले दुबै पक्ष सँगै बस्न रहन राजी भएँ । तर यस अवधिमा माइती पक्षको रु ११ लाख ३० हजारमा खरिद गरेको जमिन आफ्नो नाममा गर्न लगाएर सोही समय उसलाई बकसपत्र गर्न बाध्य गरायो ।
छ महिनासम्म मेलमिलापका साथ सँगै रहेकाले सम्बन्धविच्छेद गर्न नपर्ने अदालको पत्र आएकै दिन पुनः घरेलु हिंसाबाट प्रताडित हुुन मात्र परेन जालसाजी, लिखत बदर, सम्बन्धविच्छेदलगायतका ११ वटा मुद्दा हालेर दुःख दिने काम गरेको सोनुको गुनासो थियो । अहिले उनलाई माइतीको सम्पत्ति कसरी फिर्ता गर्ने र आफ्नो अधिकार सुरक्षित गर्ने मात्र चाहना छ भन्दा मानव अधिकारकर्मी सर्मिला कार्कीले उनको अधिकारका लागि आफूहरुले सघाउने वचन दिनुभयो । रासस
No comments:
Post a Comment