पर्सा, २१ मङ्सिर । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा हुलहुज्जत तथा तोडफोड गर्ने तीन युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
नारायणी उपक्षेत्रीय अस्पताल विकास समितिका अध्यक्ष डा राजमदेव तिवारीको कार्यकक्षमा आज बिहान प्रवेश गरी तोडफोड गर्ने निशान्त मिश्रा, ईश्वर यादव र अनिल गुप्तालाई प्रहरीले पक्राउ गरेको हो ।
बृहत् मधेसी युवा गठबन्धन वीरगन्जका १०÷१२ जनाको सङ्ख्यामा रहेका युवकको समूहले कर्मचारी नियुक्तिको विरोध गर्दै विकास समितिका अध्यक्ष तिवारीमाथि हातपात र कार्यालय सामान तोडफोड गरेको आरोपमा तीनै जना युवकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
बिहान १० बजेको समयमा एनआइसियु सञ्चालनका लागि नेपाल सरकारले स्वीकृत गरेको दरबन्दीबारे छलफल भइरहेका बेला अस्पताल कर्मचारी युनियनका अध्यक्ष रामेश्वर पटेलका छोरा रोशन पटेलको नेतृत्वमा आएको समूहले कार्यालयमा तोडफोड गरेको अध्यक्ष तिवारीले जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रालयले अस्पतालमा बच्चाहरुको सघन कक्ष सञ्चालन गर्न १५ जना कर्मचारीको दरबन्दी कायम गरेअनुसार सार्वजनिक सूचना प्रकाशित गरी दरबन्दी मिलान प्रक्रिया अगाडि बढाएइपछि त्यसको विरोध हुँदैआएको छ ।
आमा सुरक्षा कार्यक्रमअन्तर्गत उपक्षेत्रीय अस्पतालमा बच्चाहरुका लागि सघन कक्ष सञ्चालन गर्न पाँचजना चिकित्सक, आठजना स्टाफ नर्स र दुईजना स्विपरको दरबन्दी मन्त्रालयले स्वीकृत गरेको हो । रासस
No comments:
Post a Comment