Monday, December 28, 2015

शरीर बन्धक कार्यमा संलग्न चार पक्राउ

चितवन, १३ पुस । अपहरण गरी शरीर बन्धक बनाएका दुई बेग्लाबेग्लै घटनाका चार अभियुक्तलाई पक्राउ गरिएको छ भने दुईजना फरार छन् ।

जिप्रकाले आज भरतपुरमा पत्रकारसम्मेलनको आयोजना गरी दिएको जानकारीअनुसार भरतपुर उपमहानगरपालिका–२० का धनञ्जय पौडेललाई भरतपुर ओरालोस्थित एक घरमा थुनिराखेको अवस्थामा तीनजनालाई नियन्त्रणमा लिइएको हो । भरतपुर उपमहानगरपालिका–४ की ४२ वर्षीया रमा पौडेल, वडा नं १० का ३५ वर्षीय ध्रुव खड्का र वडा नं ८ का ३६ वर्षीय कृष्ण लामालाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । उनीहरुद्वारा बन्धक बनाइएका पौडेललाई मुक्त गरिएको छ । आर्थिक लेनदेनका कारण अपहरण गरी बन्धक बनाइएको हुनसक्ने आशङ्का प्रहरीले गरेको छ । पुस ११ गते दिउँसो ४ बजे भएको सो घटनाको अनुसन्धान जारी रहेको छ ।

त्यसैगरी, ना५ख ७५८६ नम्बरको ट्रकमा कपिलवस्तु चन्द्रौटाबाट गोरु लादेर सर्लाही जाँदै गरेको ट्रकलाई पूर्वी चितवनका राप्ती नगरपालिका–७ पम्फा खोलामा रोकेर रकम माग गर्ने एकजनालाई पनि प्रहरीले पक्राउ गरेको छ । खैरहनी नगरपालिका–४ बस्ने २६ वर्षीय विमल थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । घटनामा संलग्न अरू दुईजना फरार रहेको प्रहरीले जनाएको छ । अभियुक्तहरुलाई राजमार्गबाट ६ किलोमिटर पर चौकीडाँडाको जङ्गलमा नगद तथा धनमाल खोसी चालक तथा सहचालकलाई बन्धक बनाई राखिएको अवस्थामा पक्राउ गरिएको हो । पुस ९ गते दिउँसो १ बजे भएको उक्त घटनाको अनुसन्धान भइरहेको छ ।

सो पत्रकारसम्मेलनमा प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीको सुराक सञ्जाल बलियो रहँदा दुबै घटनामा मानवीय क्षति बिना अभियुक्त पक्राउ गर्न सफल भएको बताउनुभयो । फरार अभियुक्तको खोजी भइरहेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts