काठमाडौँ, २८ मङ्सिर । अघोषित नाकाबन्दीका नाममा यातायात व्यवसायीले यात्रुसँग मनपरी भाडा उठाउने क्रम नरोकेपछि यातायात व्यवस्था विभागले अनुगमन गरी काराबाही गर्ने भएको छ ।
नाकाबन्दी कायमै हुँदा पनि सरकारले मिलाएको व्यवस्थाअनुसार नेपाल आयल निगमले निजी सवारी साधनलाई भन्दा सार्वजनिक यातायातलाई प्राथमिकताका साथ इन्धन वितरण गरिरहेको छ ।
यातायात व्यवसायीले भने पेट्रोल पम्पको लाइनमा बसेर डिजेल हाली काला व्यापारीसँग रु ३०० मा हालेको भन्दै मनपरी भाडा उठाउन छाडेका छैनन् । यो गुनासो उपत्यका र बाहिरका यात्रुलेसमेत गर्न थालेपछि बुधबारबाट पुनःअनुगमन गरी कारबाही गर्ने तयारी गरिएको विभागका अनुगमन शाखा प्रमुख एवम् प्रवक्ता वसन्त अधिकारीले जानकारी दिनुभयो ।
“इन्धन अभावलाई कारण देखाउँदै व्यवसायीले रुटमा सवारी नचलाउने, यात्रु कोचेर छतमा पनि यात्रा गराउने, असुल्न सकेजति भाडा असुल्ने र जानुपर्ने स्थानसम्म नगई बीचबाटोबाटै फर्काएर यात्रुलाई दुःख दिने गरेको गुनासो बढ्न थालेकाले यस्तो नगरी रुट अनुमतिअनुसार तोकिएको भाडादरमा सवारी चलाउन निर्देशन दिइएको छ, अटेर गर्नेलाई अनुगमन गरी कारबाही गरिनेछ”– उहाँले भन्नुभयो ।
यसअघि विभाग अगाडि नै अनुगमन गर्दा एक घन्टामा २५ वटा सवारीलाई कारबाही गरिएकाले यातायात व्यवसायीमा सामाजिक उत्तरदायित्व बहन गर्ने बानी नबसेकाले यात्रुले समस्या भोग्नुपरेको उहाँ बताउनुहुन्छ ।
उपभोक्तावादी संस्था भने विभागको भनाइ कारबाही गर्न खोजे जस्तो हुने तर गराई भने त्यस्तो नहुने गरेको सुनाउँछन् । उपभोक्ता मञ्च नेपालबाट यातायात अनुगमनमा तोकिनुभएका मध्यमाञ्चल संयोजक रोशन पोखरेल विभागले इन्धन अभाव भएको भन्दै अनुगमन नै नगरेको बताउनुहुन्छ ।
“भदौ २५ गते नयाँ भाडादर लागू गरेपछि विभागले जुन गतिमा अनुगमन गरेर कारबाही प्रक्रिया अगाडि बढाएको थियो, अघोषित नाकाबन्दीपछि त्यो हराएकाले व्यवसायीमा जे गरे पनि हुन्छ भन्ने मनोबल बढेको छ, यसो हुन दिए यात्रु अझै मारमा पर्नेछन्, यसैले अविलम्ब अनुगमन गरी कानुन नमान्नेलाई विभागले कारबाही गर्नुपर्छ”– उहाँले भन्नुभयो ।
सवारीका सहयोगीमा जे गरे पनि हुने मनोबल बढेपछि पहिलेदेखि नै तोकिएको जति भाडा लिने भनी चिनिएका रुटका बसलेसमेत मनपरी भाडा असुल्न थालेको कीर्तिपुरबाट रत्नपार्क आएकी यात्रु सावित्री दाहालले बताउनुभयो । रासस
No comments:
Post a Comment