काठमाडौँ, २८ मङ्सिर । चार दिनदेखि यहाँ चलिरहेको काठमाडौँ अन्तर्राष्ट्रिय हिमालय चलचित्र महोत्सव(किम्फ) आज विभिन्न उत्कृष्ट चलचित्रलाई पुरस्कृत गर्दै सम्पन्न भएको छ ।
किम्फमा एन्ड्रे हिन्टन र जोनी बुर्केले तयार पारेको ‘तासी एन्ड द मङ्क’ अन्तर्राष्ट्रिय उत्कृष्ट वृत्तचित्र घोषित हुँदै एक हजार ५०० डलर जित्न सफल भएको छ । महोत्सवमा पोल्यान्डका पावेल वेसोजान्स्कीद्वारा निर्देशित ‘जुरेक’ दोस्रो हुँदै एक हजार डलर जितेको छ भने पोल्यान्डकै भराम खितार्यानले निर्देशन गरेको ‘पिस्न पास्टर्ज’ तेस्रो हुँदै ५०० डलर प्राप्त गरेको छ ।
यसैगरी नेपालका राजकुमार राई र उहाँको समूहले निर्माण गरेको ‘हेभेन इज ब्ल्याक’, दीपेश खरेल र फ्रोड स्टोरासले तयार पारेको ‘तामागाउँ’ र स्लोभाकियाका पाभोल बारावासले निर्देशन गरेको ‘जिट प्रे भासेन’(लिभ फर प्यासन) ले ‘जुरी मेन्सन अवार्ड’ पाएको थियो ।
किम्फमा पत्रकार गणेश पाण्डेले निर्देशन गरेको ‘भाग्यले बाँचेकाहरु’ले दर्शकको रुचिमा पर्न सफल हुँदै ‘दर्शक मत सम्मान’का साथै चलचित्र विकास बोर्डबाट रु ५० हजारको नेपाल पानोरमा पुरस्कार प्राप्त गरेको छ । अरुणदेव जोशीले निर्देशन गरेको ‘कमारो’ ले पनि नेपाल पानोरमा पुरस्कारसहित रु ५० हजार जितेको छ ।
पुरस्कार छनोट समितिमा भारतीय चलचित्रकर्मी पेमेन्द्रनाथ मजुम्दर र नम्रता राव, कोरियाका इयुन योङ किम र नेसनल जियोग्राफीका पत्रकार इड डोग्लास रहनुभएको थियो । महोत्सव अवधिभर विभिन्न मुलुकका ८१ वृत्तचित्र(चलचित्र) प्रदर्शन गरिएको थियो । रासस
No comments:
Post a Comment