Saturday, December 5, 2015

आन्दोलन स्थगन गरी वार्तामा आउन मधेसकेन्द्रित दललाई आग्रह

काठमाडौँ, १९ मङ्सिर । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आन्दोलन स्थगन गरेर वार्तामा आउन मधेसकेन्द्रित दललाई आग्रह गर्नुभएको छ ।

काँग्रेस निकट केन्द्रीय पर्यटन विभागको प्रथम राष्ट्रिय भेलाको आज यहाँ उद्घाटन गर्दै उहाँले महिनौँदेखिको बन्द, हड्ताल र नाकाबन्दीका कारण जनताले सास्ती खेप्नु परेकाले जतिसक्दो चाँडो वार्ता, संवाद र सहमतिका आधारमा समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।

मधेसी समुदायले उठाएका जायज मागलाई संविधान संशोधन गरेर भए पनि समाधान खोज्नुपर्ने उहाँको भनाइ छ । नेता देउवाले दलित, महिला, मुसलमान, मधेसीलगायत सदियौँदेखि उत्पीडनमा पारिएको समुदायको अधिकार सुनिश्चित गरिएको नयाँ संविधान कार्यान्वयन गर्नु अहिलेको मुख्य चुनौती हो भन्नुभयो ।

उहाँले नेपालको पर्यटकीय क्षेत्रलाई युवा पुस्ताले विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

काँग्रेसका नेता विमलेन्द्र निधिले एकले अर्कालाई आरोप–प्रत्यारोपभन्दा पनि मधेस आन्दोलनले ल्याएको नाकाबन्दी र त्यसले निम्त्याएको समस्या समाधान गर्न राजनीतिक दलबीच एकता हुनुपर्ने औँल्याउनुभयो ।

काँग्रेसका केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले भारतले लगाएको नाकाबन्दीबाट पाठ सिक्दै एउटा मात्र मुलुकसँग परनिर्भर नभई अन्य देशसँग पनि व्यापार सम्झौता गर्नुपर्ने बताउनुभयो ।

काँग्रेस पर्यटन विभाग प्रमुख किशोरसिंह राठौरले मुलुकलाई आर्थिक रूपमा विकास गर्ने हो भने पर्यटकीय क्षेत्रलाई औद्योगीकीकरण गर्नुपर्छ भन्नुभयो । भेलाले नयाँ कार्यसमिति पनि चयन गर्नेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts