पाल्पा, १९ मङ्सिर । महिला हिंसा अन्त्यका लागि सामूहिक प्रतिबद्धताको खाँचो रहेको तानसेनमा आज आयोजित कार्यक्रमका सहभागीले औँल्याएका छन् ।
नेकपा (एमाले) पाल्पाको आयोजनामा भएको ‘महिला हिंसाविरुद्ध, हाम्रो सामूहिक प्रतिबद्धता’ विषयको क्षेत्रीय कार्यशाला गोष्ठीमा सहभागीले महिलाले मात्र चाहेर हिंसा अन्त्य नहुने र हिंसा अन्त्यका लागि सामूहिक प्रतिबद्धतासहित कार्यान्वयनमा समेत ध्यान दिनुपर्नेमा जोड दिए ।
सो अवसरमा एमालेका पोलिटब्युरो सदस्य परशुराम मेघी गुरुङले नयाँ संविधान जारी भएपछि नेपाल नयाँ युगमा प्रवेश गरेकाले अब सबै प्रकारका सामाजिक समस्याको अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले राजनीतिक दलहरुले सामाजिक विकृति र विसङ्गति अन्त्यका लागि ‘एजेण्डा’ बनाउन सकेमा महिला हिंसा अन्त्य हुने बताउनुभयो ।
एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले भाग्यवादका कारण बोक्सी प्रथा अझै पनि कायमै रहेको र यसको अन्त्यका लागि सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय महिला आयोगका पूर्वसदस्य धनकुमारी सुनारले ‘नेपालमा महिलाविरुद्ध हुने हिंसाको वर्तमान स्थिति’, अधिवक्ता पुनदेवी महर्जनले ‘बोक्सी आरोपसम्बन्धी ऐन, २०७२’ तथा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार ऐन, २०७१’ र महिला उद्यमी महासङ्घ नेपालका अध्यक्ष रिता भण्डारीले ‘हिंसा र शोषणपीडित महिलालाई उपलब्ध आर्थिक अवसर’ विषयको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । रासस
No comments:
Post a Comment