Tuesday, December 29, 2015

नाकाबन्दीले सामान नआउँदा व्यापारी मर्कामा

काठमाडौँ, १४ पुस । भारत सरकारले लगाएको अघोषित नाकाबन्दीले काठमाडौँमा सामान ल्याउन नसकी व्यापारीहरु मर्कामा परेका छन् ।

गत वैशाख १२ गते गएको भूकम्पले तातोपानी नाकामा सामान अड्किँदा समस्यामा परेका व्यापारीले नाकाबन्दीबाट थप क्षति बेहोर्नुपरेको छ ।

खिचापोखरी न्यूरोड व्यापार सङ्घका अध्यक्ष मनोज श्रेष्ठले चीनबाट सामान ल्याउने नाका भूकम्पले थुनिएपछि भारतबाट सामान ल्याएको तर मधेस आन्दोलन नाकाबन्दीले वीरगञ्ज नाकाबाट सामान आउन नसक्दा समस्या भइरहेको बताउनुभयो ।

उहाँका अनुसार गत वर्ष जाडो याममा दैनिक ५० हजार रुपैयाँको व्यापार हुने गरेकामा अहिले भूकम्प र नाकाबन्दीले दैनिक २० हजार रुपैयाँको पनि व्यापार हुनसकेको छैन ।

अध्यक्ष श्रेष्ठले भन्नुभयो, “मैले एमएण्डडी जुत्ता कम्पनीबाट जुत्ता र चप्पल ल्याएको थिएँ । चीनबाट आएको सामान तातोपानी र भारतबाट आएको सामान वीरगञ्जमा थन्किँदा समस्या भएको छ ।” न्यूरोड व्यापार सङ्घमा ६०० पसल आवद्ध छन् र सबैको व्यापारको स्थिति उस्तै छ ।

यस्तै न्यूरोडमै सुदिम ट्रेडर्समार्फत सामान आयात गर्नुभएका दीपक भण्डारीको पीडा पनि उस्तै छ । वैशाखमा ल्याउनुभएको सामान भूकम्पका कारण ल्हासामा अड्किएर र दसैँका लागि ल्याएको सामान वीरगञ्जमा अड्किएर व्यापार अस्तव्यस्त भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सामान नआँउदा बैँकबाट लिएको रकमको व्याज तिर्नसमेत समस्या भएको छ ।” भण्डारीका अनुसार करिब दश लाख रुपैयाँ बराबरको सामान ल्हासामा थन्किएको छ । र विरगञ्जबाट ल्याएको सामान नाकामा थन्किँदा समस्या परेको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts