बाबियाचौर(म्याग्दी) १४ पुस । जिल्लाको ग्रामिण क्षेत्रमा खुलेका सहकारी संस्थाहरुले महिलाको उत्थानका लागि बिना धितो रु १३ करोड लगानी गरेका छन् ।
जिल्लाको २२ गाविस तथा बेनी नगरपालीकाको १० वटा वडामा रहेका महिला सहकारी संस्थाले चालु आवको पहिलो चौमासीकमा रु १३ करोड २३ लाख लगानी गरेका हुन् । सहमती संस्थाद्धारा सञ्चालित बालिका शक्ति परियोजना र स्वाबलम्बि समूह तथा महिला सहकारी प्रर्वद्धन कार्यक्रममार्फत सञ्चालित सहकारी संस्थाले सामुहिक जमानीको आधारमा बिना धितो प्रतिव्यक्ति रु एक लाखसम्म लगानी गरेका छन् ।
सहकारीमा आवद्ध १३ हजार १४ जना सेयर सदस्यमध्ये एक हजार ३६२ जना सहकारीबाट ऋण लिएर कृषि र गैर कृषिजन्य व्यवसायमा लागेका सहमती संस्थाको जिल्ला संयोजक शिव सुवेदीले जानकारी दिनुभयो । महिला सहकारीमार्फत गैर कृषिजन्य व्यवसायमा रु दुई करोड ७३ लाख २१ हजार, पशुपालनमा रु दुई करोड ७० लाख ९८ हजार, कृषिमा रु एक करोड ७० लाख ९८ हजार, शिक्षामा रु एक करोड ९७ लाख तीन हजार र वैदेशिक रोजगारमा रु एक करोड ३० लाख ४५ हजार कर्जा प्रवाह भएको छ ।
रु तीन करोड ६५ लाख २७ हजार शेयर पुँजी रहेका महिला सहकारीले रु १६ करोड ५४ लाख १३ हजार निक्षेप संकलन गरेका छन् । जिल्लाको झिँ, दाना, पात्लेखेत, ताकम, मुदी, अर्मन, दरवाङ, रुम, निस्कोट, देविस्थान, बेग, भगवती, चिमखोला, दग्नाम, कुईनेमंगलेलगायत गाविस र बेनी नगरपालीकाको रत्नेचौर, घतान, ज्यामरुकोट, सिंगालगायत ठाउँमा महिला सहकारी संस्था रहेका छन् ।
ग्रामिण क्षेत्रमा सहकारी संस्था खुलेपछि महिलाले नियमित बचत गर्ने गरेका छन् । उनीहरु आफन्तबाट माग्नुपर्ने र व्यक्तिबाट चर्को व्याजमा ऋण लिनुपर्ने समस्याबाट मुक्त भएका छन् । बिना धितो कर्जा सुविधा पाएपछि बैंक तथा बित्तिय सुविधा नपुगेका ग्रामिण क्षेत्रका विपन्न महिलालाई आयआर्जनमुलक गतिविधि गर्न र घरव्यवहार चलाउन सजिलो भएको पात्लेखेतकी शोभा रोकाले बताउनुभयो । महिला सहकारीअन्तर्गत ५३५ वटा समूह रहेका छन् भने समूहको सिफारीसका आधारमा सहकारीले बिना धितो लगानी गर्दै आएका छन् । रासस
No comments:
Post a Comment