काठमाडौँ, १७ मङ्सिर । एकीकृत नेकपा(माओवादी)को जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि नेताहरुले धारणा राख्ने क्रम सुरु भएको छ ।
गत मङ्गलबारबाट सुरु भएको बैठकमा पूर्व वरिष्ठ नेता डा बाबुराम भट्टराईले पार्टी परित्याग गरेपछिको अवस्थालार्ई सम्हालेर अगाडि बढ्नुपर्नेमा केन्द्रीय सदस्यहरुले जोड दिनुभएको छ ।
उहाँहरुले नयाँ शक्तिको नाममा गैरमाक्र्सवादी चिन्तन र चरित्रलाई प्रश्रय दिएको, संविधान निर्माणपछि त्यसको सहज कार्यान्वयनमा लाग्नुपर्नेमा पार्टी र आन्दोलनलाई नै बद्नाम पार्ने गरी डा भट्टराई लागेको भन्दै एमाओवादी नै नयाँ शक्ति भएकाले विगतका गल्ती तथा कमजोरीलाई सच्याएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।
दश वर्षे जनयुद्धको प्रमुख मागको रुपमा रहेको संविधानसभाबाट संविधान जारी हुनु राजनीतिकरुपमा पार्टीले लिएको लाइन सफल भएको भन्दै आजको बैठकमा धारणा राख्ने अधिकांश नेताहरुले संविधान सारतः जनताको पक्षमा भए पनि केही कमीकमजोरी रहेकाले त्यसलाई क्रमशः संशोधनमार्फत अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभएको थियो ।
उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सशस्त्र सङ्घर्ष र जनआन्दोलनको मान्यताबाट आएका सबै नेता तथा कार्यकर्तालाई मिलाएर लैजान एउटा प्रणालीको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले नयाँ संविधानमा विभिन्न खालका कमी तथा कमजोरी रहेको भए पनि मूलभूत रुपमा समाजवाद उन्मुख संविधान बनेको भन्दै त्यसको सहज कार्यान्वयनमा लाग्नुपर्ने बताउनुभयो ।
उहाँले एमाओवादीको तर्फबाट सरकारका सहभागी मन्त्रीलाई पालैपालो पार्टी केन्द्रीय कार्यालयमा आएर पार्टीका नेता तथा कार्यकर्तालाई भेट्नुपर्ने प्रस्ताव गर्नुभयो ।
यसैगरी बैठकमा महासचिव कृष्णबहादुर महराले संविधानसभाबाट समाजवाद उन्मुख संविधान बनेकाले यसको सहज कार्यान्वयनमा पार्टी प्रतिबद्ध भएर लाग्नुपर्ने र कमीकमजोरीलाई सङ्घर्षका माध्यमबाट संशोधन गर्न सकिने धारणा राख्नुभएको थियो ।
सचिव टोपबहादुर रायमाझीले डा भट्टराईमा व्यक्तिगत कुण्ठा र अराजकताबाहेक अरु केही पनि नरहेको र माक्र्सवादी चिन्तनबाट समेत पछाडि हटेको भन्दै नयाँ शक्तिको नाममा उनले कम्युनिस्ट आन्दोलनलाई धरासायी बनाउन लागेको विचार व्यक्त गर्नुभयो । उहाँले एमाओवादी नै नयाँ शक्ति भएकाले पार्टीका गल्ती तथा कमजोरीलाई सच्याएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको थियो ।
प्रवक्ता दिनानाथ शर्माले अध्यक्ष दाहालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रम सुरु भएको जानकारी दिनुभयो ।
बैठकमा अध्यक्ष दाहालले २७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बैठक शुक्रबार पुन १२ बजे बस्ने प्रवक्ता शर्माले बताउनुभयो । रासस
No comments:
Post a Comment