काठमाडौँ, २७ मङ्सिर । नेपालमा च्याउ उत्पादनको सम्भाव्यता अध्ययन सीमित र श्रोतसाधनको अभावमा उल्लेख्य प्रगति हासिल गर्न नसकेको विज्ञहरु बताउँछन् ।
एग्रो टाईम्सले आज यहाँ आयोजना गरेको ‘च्याउको सम्भावना र चुनौती’ विषयक अन्तरक्रियामा विज्ञहरुले व्यावसायिक स्थायित्व नहुनु, अनुदानमा दक्ष व्यवसायीको पहुँच नहुनु, बीउबिजन नपाउनुजस्ता कारण च्याउको उत्पादनमा चुनौती रहेको बताए ।
च्याउ उत्पादक किसान सङ्घ नेपालका अध्यक्ष पिएन अधिकारीले गत वर्षदेखि सरकारले च्याउमा अनुदान दिन सुरु गरे पनि उत्पादनै नहुने क्षेत्रमा रकम विनियोजन भएको गुनासो गर्नुभयो ।
कृषि अनुसन्धानकर्ताद्वय डा केशरीलक्ष्मी श्रेष्ठ र डा महेशकुमार अधिकारीले विश्वमा पाइने अधिकांश च्याउमध्ये नेपालमा एक हजार ३०० प्रजातिका च्याउ पाइने जानकारी दिँदै च्याउ अनुसन्धान गर्ने विशेषज्ञको कमी रहेकाले गुणस्तरीय उत्पादन हुन नसकेको बताउनुभयो । कार्यक्रममा च्याउखेतीका १८ जना अभियन्तालाई सम्मानित गरिएको थियो ।
सन् १९७२ मा त्रिभुवन विश्वविद्यालयको हाताभित्र पहिलो पटक च्याउखेती गरिएको थियो । नेपालमा पाइने १३७ प्रजातिका च्याउ खान मिल्ने, १०० प्रजातिका खान नहुने र ७५ प्रजातिका च्याउ औषधिका रुपमा प्रयोग गर्न मिल्ने रहेका छन् । रासस
No comments:
Post a Comment