Sunday, December 13, 2015

पुनःनिर्माण प्राधिकरणका लागि काँग्रेसले समर्थन गर्नुपर्छ : नेत्री कोइराला

काठमाडौँ, २७ मङ्सिर । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण निर्माणका लागि काँग्रेसले सहयोग गर्नुपर्ने बताउनुभएको छ ।

नेपाली काँग्रेस मोरङ–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘नेपाली काँग्रेसको तेह्रौँ महाधिवेशन नीति र नेतृत्व विषयक अन्तक्र्रिया’ कार्यक्रममा नेत्री कोइरालाले प्राधिकरण अघि बढाउन नसक्दा भूकम्पपीडितलाई समस्या परेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “भूकम्पपछि भएको दाता सम्मेलनमा चार खर्ब रुपैयाँ लगानी भित्रने प्रतिवद्धा आएको थियो, प्राधिकरण बन्न नसक्दा सो रकम गुम्ने खतरा भएकाले काँग्रेसले प्राधिकरणलाई अड्काउन हुँदैन ।”

नेत्री कोइरालाले अहिलेको अवस्थामा राजनीतिक स्थायित्व र संविधान कार्यान्वयनका लागि राजनीतिक एकता आवश्यक रहेको बताउँदै भन्नुभयो, “राष्ट्रिय एकता नबनेसम्म संविधान कार्यान्वयन हुन नसक्ने भएकाले मुलुकलाई अहिले राष्ट्रिय एकता आवश्यक छ ।”

उहाँले पार्टीको आगामी महाधिवेशनमा दोस्रो पुस्ताको नेतृत्व आवश्यक रहेको बताउँदै पार्टीभित्र भाषण छाट्ने नेताभन्दा काम गर्ने नेताको खाँचो रहेको औँल्याउनुभयो । कोइरालाले संविधान संशोधन प्रस्ताव काँग्रेसको पालामा दर्ता भएकाले यसको कार्यान्वयनका लागि काँग्रेसले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

काँग्रेसकी अर्की केन्द्रीय सदस्य कविता सरदारले पार्टीभित्र देखिएको ६०÷४० भागबन्डा अन्त्य गर्न आगामी महाधिवेशनले नयाँ नेतृत्व ल्याउनु आवश्यक भएको बताउनुभयो । उहाँले अहिलेको संविधान समावेशी, सहभागितामूलक रहेको बताउँदै भन्नुभयो, “यो संविधानले दलित, जनजाति, महिला, मधेसी, मुस्लिम, अपाङ्ग सबैको भावना समेटेको छ ।”

नेपाल तरुण दलका अध्यक्ष एवम् सांसद उदयशमशेर राणाले मधेस आन्दोलनले देश अस्तव्यस्त भएको भन्दै वार्ता र संवादबाट देशलाई निकास दिनुपर्ने बताउनुभयो । उहाँले संविधानमा रहेका विषयवस्तुबारे जनतालाई बुझाउन नसक्दा देशले यस्तो सङ्कट परेको स्पष्ट पार्दै युवालाई नेतृत्व दिएमात्र पार्टी सवलरुपमा अगाडि बढ्ने बताउनुभयो ।

नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य विजुला बर्माले पार्टीभित्र निष्ठाभन्दा पैसाको राजनीति बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले मुलुकमा संविधान निर्माण भइसकेकाले अब देशलाई विकासको बाटोमा लैजानुपर्ने धारणा राख्नुभयो ।

सम्पर्क समितिका अध्यक्ष विमल सङ्ग्रौलाले पार्टीभित्रको भागबन्डा अन्त्य गरेर आगामी महाधिवेशनले पार्टीलाई सही दिशामा अगाडि लैजाने नेतृत्वको आवश्यक रहेको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts