काठमाडौँ, १७ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्गता भएका व्यक्तिलाई दयामाया नभई आत्मसम्मान एवम् अधिकारसहितको जीवनको सुनिश्चितता गरी विकासको मूल प्रवाहमा ल्याउनुपर्ने बताउनुभएको छ ।
चौबीसौँैँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपतिले नेपालको संविधानमा अपाङ्गता भएका व्यक्तिको सामाजिक, राजनीतिक र आर्थिक अधिकारको सुनिश्चितता गरी तिनमा नयाँ ऊर्जा थपिदिएकाले अब सरकारले आवश्यक कानुन निर्माण गरी तिनको हकहितलाई सुनिश्चित र सुरक्षित गर्दै कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
सबैको सामूहिक प्रयासबाट अपाङ्गता भएका व्यक्तिलाई हेर्ने परम्परागत दृष्टिकोणबाट परिवर्तन गरी उनीहरुको आत्मसम्मानसहितको मर्यादित जीवन सुनिश्चित गर्न सकियोस् भन्दै सम्बद्ध सबैमा राष्ट्रपतिले शुभकामना व्यक्त गर्नुभएको छ ।
“अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी संयुक्त राष्ट्र सङ्घ महासन्धिको अनुमोदन गरी अपाङ्गता भएका व्यक्तिको जीवनलाई सम्मानित र मर्यादित बनाउन तथा समाजमा स्वाभिमानपूर्वक जीवनयापन गर्न सक्ने वातावरण निर्माण गर्न अपाङ्गतासम्बन्धी अन्तर्राष्ट्रिय कानुन अनुकूल राष्ट्रिय निर्माण गर्ने कार्यलाई नेपाल सरकारले जारी राखेको छ”–सन्देशमा उल्लेख छ ।
‘अर्थपूर्ण समावेशीकरण, सबै क्षमताको व्यक्तिका लागि पहुँच र सशक्तीकरण’ भन्ने मूल नाराका साथ यस वर्ष आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदैछ । रासस
No comments:
Post a Comment