काठमाडौँ, १२ पुस । नेपाल प्राध्यापक सङ्घले मुलुकमा जारी मधेसको आन्दोलन र त्यसले निम्त्याएको समस्यालाई कूटनीतिक पहलबाट समाधान गर्न सरकारसँग आग्रह गरेको छ ।
सङ्घको हालै चितवनको सौराहामा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले आन्दोलनरत पक्ष र सरकारले मानवअधिकारका न्यूनतम मूल्य र मान्यतालाई उल्लङ्घन नहुने गरी आफ्नो भूमिका अगाडि बढाउन र आन्दोलनलाई अतिवादतर्फ नभई सिर्जनात्मक सोच र समन्वयको बाटोमा अग्रसर गराउन आग्रह गरेको छ ।
सङ्घद्वारा आज जारी विज्ञप्तिअनुसार मधेस आन्दोलन र भारतको नाकाबन्दीका कारण मुलुकमा सबैखाले अभाव र कालोबजारीले दिन प्रतिदिन आक्रान्त पार्दै गइरहेको परिप्रेक्ष्यमा जिम्मेवार पक्ष अझ गम्भीर र संवेदनशील भएर कूटनीतिक ढङ्गबाट समस्या समाधान गर्नुपर्नेमा सङ्घले जोड दिएको छ ।
यसैगरी, विगतमा विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्त गर्दा राजनीतिक भागबन्डाका आधारमा भएकाले विश्वविद्यालयको प्राज्ञिक मूल्य र मान्यतामा ह्रास आएको मात्र नभई राष्ट्रिय अन्तर्राष्ट्रिय छविसमेत धमिलो हुन गएकाले यस्तो अवस्थामा पदाधिकारी छनोट गर्दा प्राज्ञिक प्रखरता, प्रशासनिक दक्षता, दूरदृष्टि भएका क्षमतावान् ओजस्वी व्यक्तिको नियुक्ति हुनुपर्ने माग गरेको छ ।
यही पुस १ गते रामजानकी मन्दिरमा पूजाअर्चना गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि भएको दुव्र्यवहारप्रति सङ्घले भत्सर्ना गर्दै उक्त घटनाका दोषीमाथि आवश्यक कार्वाहीको मागसमेत गरेको छ । रासस
No comments:
Post a Comment