Monday, December 28, 2015

नेपाली उत्पादनलाई भन्सार छुट दिने अमेरिकाको निर्णय स्वागतयोग्य – प्रधानमन्त्री

काठमाडाँै, १३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा उत्पादित कपडा निर्यातमा लाग्ने भन्सार छुट दिने अमेरिकी सरकारको निर्णयको स्वागत गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल उद्योग वाणिज्य महासङ्घ, उद्योग परिसङ्घ र चेम्बर अफ कमर्सका प्रमण्डलसँग आज भएको भेटमा उहाँले अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको माग बढेकाले व्यवसायीलाई कपडा र तयारी पोसाकको उत्पादन बढाउन आग्रह गर्नुभयो ।

लामो समयदेखि तराईमा भएको आन्दोलनका कारण बन्द उद्योग खुलाउन सरकारले विशेष पहल गर्ने आश्वासन दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “लामो समयदेखि उद्योगधन्दा बन्द हुँदा देशको अर्थतन्त्र ध्वस्त भएको छ । उद्योग खुलाउन सरकारले विशेष योजना छिट्टै ल्याउँछ ।” उहाँले बन्द खुलाउन उद्योगी व्यवसायीले दृढतापूर्वक सरकारलाई साथ दिनुपर्ने बताउनुभयो ।

आफ्नो उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन उत्पादनको गुणस्तर र मूल्यमा ध्यान दिन व्यवसायीलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले कृषि र उद्योगलाई समायोजन हुने गरी उद्योग सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार प्रधानमन्त्री ओलीले भन्नुभयो, “कपास रोप्नेदेखि गलैँचा बुन्नेसम्मका काम स्वदेशमै भए भने कृषि र उद्योग एकीकृतरुपमा अगाडि बढ्छ । जब कच्चा पदार्थ आफैँसँग हुन्छ, त्यस्ता उद्योगले लामो समयसम्म उत्पादन दिन पनि सक्छन्, त्यहीँबाट सुरु हुन्छ आत्मनिर्भरता ।”

भेटमा महासङ्घका अध्यक्ष पशुपति मुरारका, परिसङ्घका अध्यक्ष नरेन्द्र बस्नेत, चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ, महासङ्घका पूर्व अध्यक्ष सुरज वैद्यलगायतको सहभागिता थियो ।

उहाँहरुले लामो समयको बन्दबाट उद्योग व्यवसाय चौपट भएकाले उद्योग सञ्चालन गर्ने वातावरण बनाइदिन प्रधानमन्त्रीसँग माग गर्नुभएको थियो । व्यवसायीले धरान–उदयपुर–सिन्धुली सडक पुनःनिर्माण गरेर वैकल्पिक मार्ग सञ्चालन गर्न पनि प्रधनमन्त्रीसँग माग गरेको प्रेस सल्लाहकार दाहालले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts