काठमाडौँ, २४ मङ्सिर । तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय व्यापार मेला पुस ८ गतेदेखि २१ गतेसम्म बुटवलमा हुने भएको छ ।
नेपाल चेम्बर अफ कमर्स र रुपन्देही व्यापार सङ्घद्वारा आज यहाँ संयुक्तरुपमा आयोजित पत्रकार सम्मेलनमा स्थानीय तथा स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न मेला गर्न लागेको जानकारी दिइएको हो ।
मेलामा ६०० बिक्री कक्ष तथा १० लाखले अवलोकन गर्ने र रु ४० करोडको कारोबार हुने आयोजक संस्थाले जनाएको छ ।
मेलामा नेपाल, भारत, पाकिस्तान, चीन, बङ्गलादेशलगायतका राष्ट्रको सहभागिता हुने छ । अन्तर्राष्ट्रिय वस्तुका करिब ५० कक्ष राखिने छ । सेवामूलक, विद्युतीय उपकरण, दैनिक उपभोग्य सामग्री, घरेलु तथा हस्तकला अटो पेभिलियन, सूचना प्रविधि र इलेक्ट्रोनिक्स, गार्मेन्ट्स, होटल तथा रेस्टुराँ, कृषि प्रविधि, सामाजिक तथा सेवामूलक सङ्घ संस्था, जुत्ता, चप्पल, निर्माण सामग्रीलगायतका कक्ष राखिने छ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले भूकम्प तथा नाकाबन्दीका कारण अहिले नेपाली अर्थतन्त्रमा नकरात्मक प्रभाव देखा पर्दै गएका बेलामा हुन लागेको अन्तर्राष्ट्रिय मेलाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो सन्देश प्रवाह हुने र मुलुकको व्यवसाय तथा अर्थतन्त्रलाई सकारात्मक बनाउन सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
रुपन्देही व्यापार सङ्घका अध्यक्ष टङ्कप्रसाद पोखरेलले अहिलेको असहज परिस्थितिका समयमा हुन लागेको ऐतिहासिक मेला राष्ट्रियतासँग जोडिएको र यसलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
त्यसैगरी ती दुवै संस्थाले भारतले गरेको नाकाबन्दी अन्तर्राष्ट्रिय कानुन विपरीत रहेकाले भारत सरकारलाई चाँडोभन्दा चाँडो नाकाबन्दी खुला गर्न आग्रह गरेको छ । रासस
No comments:
Post a Comment