भक्तपुर, २० मङ्सिर । भूकम्पले घर भत्काएपछि शिविरमा बस्दै आएका भक्तपुर नगरपालिका–१ ब्रह्मायणी शिविरका १८ परिवारलाई जस्ताबाट निर्मित टहरा हस्तान्तरण गरिएको छ ।
शिविरमा सात महिनादेखि बस्दै आएका ती भूकम्पपीडितलाई न्युजिल्यान्डबाट आएका इन्जिनियर स्टेभ ट्राभेला, उनकी श्रीमती विन्डीसहित चार विदेशीले जस्ताको टहरा आफैँले निर्माण गरी आज हस्तान्तरण गरेका हुन् ।
ब्रह्मायणी शिविरकी रत्नमाया प्रजापतिले सरकारले भूकम्पपीडितका लागि रु १५ हजार दिए पनि त्यो रकम घर खर्चमै सकिएकाले टहरा बनाउन नसकेपछि अहिले विदेशीले टहरा दिँदा घरै पाएजस्तो भएको बताउनुभयो ।
जस्ताको टहरा पाएपछि खुसी हुँदै शिविरकी कान्छी प्रजापतीले भन्नुभयो, “चिसो मौसम सुरु हुँदा दिन कठिन बन्दै थियो, टहराले सजिलो हुने भयो ।”
टहरा हस्तान्तरण कार्यक्रममा नेपाल घुम्न आएका स्टेभले नेपालमा भूकम्पपीडितले पाएको दःुख देखेपछि न्युजिल्यान्डका साथीसँग रकम उठाई आफैँले टहरा निर्माण गरेको बताउनुभयो ।
भक्तपुर नगरपालिका–१ ब्रह्मायणीमा नगरपालिकाको जग्गामा बसोबास गरिरहेका उनीहरुलाई एक परिवारलाई एक कोठाका दरले १८ कोठा निर्माण गरिएको छ । एकीकृत बसोबास योजनाकै अवधारणा अनुरुप १८ परिवार एकै थलामा मिलेर बस्ने गरी शौचालयसमेत निर्माण गरिएको विदेशी दातालाई ल्याउने सहजकर्ता एवम् एमालेका केन्द्रीय सदस्य सोम मिश्रले बताउनुभयो ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवम् पूर्वराजदूत प्रमेश हमाल र नेपाल पत्रकार महासङ्घ भक्तपुरका उपाध्यक्ष सोम शर्मा बजगाईँले सरकराले छिट्टै पुनःनिर्माणको काम सुरु गर्नुपर्ने बताउनुभयो । रासस
No comments:
Post a Comment