बाबियाचौर (म्याग्दी), २० मङ्सिर । जिल्लाको दुर्गम मुदी र पाखापानी गाविसका सबै घरधुरी सहकारीमा आवद्ध भएका छन् ।
महिलाको अगुवाईमा सबै घरधुरीलाई सहकारीमा आवद्ध गराइएको हो । सहकारीमा आवद्ध भएपछि स्थानीय बासिन्दालाई आर्थिक कारोबार गर्न सुबिधा पुग्नुका साथै व्यक्तिबाट महँगो ब्याजदरमा ऋण लिनुपर्ने समस्यामा कमी आएको स्थानीयबासीले बताएका छन् ।
मुदीका ५७८ घरधुरी नमुना धौलागिरी र पाखापानीका ५०४ घरधुरी रघुगङ्गा महिला विकास बहुउद्देश्यीय सहकारी संस्थामा आवद्ध भएका हुन् । दुबै गाविसलाई स्थानीय सहकारी संस्था, सहमति र महिला तथा बालबालिका कार्यालयको सहयोगमा शतप्रतिशत घरधुरी सहकारीमाआवद्धता भएको घोषणा गरिएको थियो ।
सहकारीले बचत, सामूहिक जमानीमा बिनाधितो अधिकतम रु ५० हजारसम्म कर्जा प्रवाहका साथै विदेशबाट आफन्तले पठाएको विप्रेषण भुक्तानीसम्बन्धि सुविधा दिने गरेका छन् । बैंकको पहुँच नपुगेको दुर्गम वस्तीका विपन्नलाई रु आठदश हजार आवश्यक पर्दा साहुकहाँ चर्को ब्याज तिरेर ऋण लिनुपर्ने बाध्यता हटेको मुदीस्थित नमुना धौलागिरि महिला विकास सहकारी संस्थाका अध्यक्ष सरदेवी घर्तीले बताउनुभयो ।
यसअघि कुइनेमङ्गले, चिमखोला, पाखापानी, पात्लेखेत, झिँ, दग्नाम, कुहुँ, दानालगायत १२ गाविसलाई पनि शतप्रतिशत घरधुरी सहकारीमा आवद्धता गाविस घोषणा गरिएको थियो । रासस
––––
No comments:
Post a Comment