काठमाडौँ, १६ मङ्सिर । “काम गर्ने स्थानमा पुगेको २७ दिन भयो, सुरुको चरणमा सरसफाइलाई नै प्राथमिकता दिएको छु, त्यसमा पनि पहिलो शौचालय परेको छ”–संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले सुनाउनुभयो ।
दोलखाली पत्रकार समाजले आज आयोजना गरेको बधाई तथा शुभकामना आदानप्रदान गर्न आयोजना गरेको कार्यक्रममा मन्त्री पोखरेलले आफ्नो योजना सुनाउनुभएको हो । उहाँका अनुसार बिहीबार मन्त्रिपरिषद् बैठकले पर्यटन मन्त्रालयले गर्ने दुईवर्षे पर्यटन विकासको कार्ययोजना सार्वजनिक गर्ने जानकारी पनि दिनुभयो ।
नेपाललाई सन् २०१७ सम्म खुला दिसामुक्त घोषणा गर्ने सरकारको तयारी छ । “विमानस्थल, पशुपति क्षेत्र विकास कोष अनि मेरो मन्त्रालयको चर्पी पनि सफा हुनुपर्छ, मन्त्रालयमा आइसकेपछि चर्पी सफा हुन्छ कि हुँदैन भनेर २० दिनसम्म हेरँे, पर्खेँ तर सफाइ भएन, त्यसपछि सोधेँ किन शौचालय सफा भएन ?”– उहाँले भन्नुभयो “आफूले सफाइ गर्न निर्देशन नदिएसम्म चर्पी सफा भएन, पहिला चर्पी गन्हाउँथ्यो तर अहिले अलि नगनाउने भएको छ, देशमा खुला दिसामुक्त गरेर मात्र पुग्दैन, प्रयोग गर्ने चर्पी पनि सफा हुनुपर्छ, सफाइ नै मानिसको सभ्यताको प्रतीक हो ।” मन्त्री पोखरेलले मन्त्रालयका योजना सुनाउँदै जानुभयो ।
उहाँले त्रिभुवन विमानस्थलको सरसफाइमा पनि विशेष जोड दिँदै यही मङ्सिर २२ गते विमानस्थलको हिजोको अवस्था र आजको अवस्थाका बारे सार्वजनिक गरिने र प्रत्येक हप्ता विमानस्थलको अनुगमन गरिने जानकारी पनि दिनुभयो । विमानस्थलको विस्तारका लागि रु पाँच अरब चाहिने उहाँको अनुमान छ ।
उहाँले भन्नुभयो–“यदि मुलुकको सार्वभौमसत्तालाई बलियो बनाउने हो भने हवाई सेवालाई बलियो बनाउनुपर्छ, यदि देशसँग पर्याप्त हवाईजहाज भएको भए अहिलेको सङ्कट हुने थिएन, जहाँसुकैबाट तेल ल्याउन सकिन्थ्यो । छिमेकी एयरलाएन्ससँग आग्रह गर्दा तेल ल्याउन तयार हुने भएन । ”
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढको काम तत्काल सुरु गर्नुपर्ने बताउँदै नागरिक उड्डयनमन्त्रीले प्रत्येक जिल्लाको संरचनालाई स्वीकार गरेका अवस्थामा ५७ जिल्लामा विमानस्थलको आवश्यकता रहेको जानकारी दिनुभयो ।
उहाँले गुम्बा व्यवस्थापन समिति, हज कमिटी र चलचित्र विकास बोर्ड पनि आफ्नो मन्त्रालय अन्तर्र्गत हुनुपर्ने विचार राख्दै उहाँले आजको दिनदेखि २१ दिनमा नेपाल पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत पाउने विश्वास दिलाउनुभयो ।
पशुपतिको हरियालीका लागि रु २६ करोड आवश्यक पर्ने बताउँदै उहाँले पशुपतिको विकासको गुरुयोजनाका लागि रु दुई करोड माग गरिएको जानकारी दिनुभयो ।
बृहत् लुम्बिनी गुरुयोजनाका लागि रु तीन करोड माग गरिएको बताउँदै उहाँले भन्नुभयो–“ लुम्बिनी विकास कोषमा हडतालमा छ, कोषका कर्मचारी काठमाडौँमा सबैभन्दा राम्रो गाडी चढेका छन्, काठमाडौँमा रु ६० हजारको कोठा भाडामा लिएका छन्, पदाधिकारी कोही चितवन छन् । कोही कहाँ ? कार्यालयमा छैनन् । ”
पर्यटनका लागि पत्रकार
पर्यटन प्रवद्र्धनको सन्दर्भमा छिट्टै ५० देशका पत्रकारलाई नेपालमा ल्याइने र नेपालका पत्रकारलाई पनि पर्यटन प्रवद्र्धन गर्न आग्रह गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार सात प्रदेशमा सात केन्द्र तोकेर पर्यटन प्रवद्र्धन गर्ने तयारी गरिने छ ।
कार्यक्रममा कलाकार मदनदास श्रेष्ठले दोलखामा पर्यटकीय मनमोहक क्षेत्र धेरै भएकाले त्यहाँको पर्यटकीय क्षेत्रको विकासमा ध्यान दिन आग्रह गर्नुभयो । “दोलखाले एउटा मन्त्री पाएको छ, अब विकासका योजनाले कार्यान्वयन हुने राम्रो मौका मिलेको छ”– पत्रकार समाजका अध्यक्ष सन्तोष खड्काले आशा व्यक्त गर्नुभयो । रासस
No comments:
Post a Comment