प्यूठान, १४ पुस । जिल्ला बाल सञ्जालकी अध्यक्ष नारायणी रेग्मीले आफ्नो गाविसमा हुने गाउँ परिषद्देखि योजना तर्जुमाका विषयमा सुन्न थालेको पाँच वर्ष पूरा भयो । तर उहाँले पहिलो पटक यसपालि आफ्ना लागि योजनाहरुको आफ्नै सहभागितामा छनोट गर्न पाउँदा मख्ख हुनुहुन्छ ।
त्यस्तै, भिगृ गाविसस्तरीय बाल सञ्जालकी सचिव विष्णु पन्थीले पनि बालबालिकाका लागि आएको बजेट र बाल योजनाका विषयमा धेरै कुरा सुने पनि पहिलो पटक गाविसस्तरीय बालभेलामा सहभागी भई आफूहरुका लागि आवश्यक योजनाको छनोट गर्न पाउँदा फरक अनुभव सङ्गाल्नुभएको छ ।
रेग्मी र पन्थी जस्तै प्यूठानमा यस पटक धेरै बालबालिकाले गाउँ परिषद्देखि बस्तीस्तरको एकीकृत योजना छनोटमा सहभागिता हुन पाउँदा फरक अनुभव गरेका छन् । बेलबास–१ का लक्ष्यित समूहमा पर्ने धनबहादुर पुनले पनि बस्ती तथा वडास्तरको योजना छनोटमा पहिलो पटक सहभागी हँुदा हालसम्मकै गौरव महसुस गर्नुभएको छ । जिल्लामा बस्ती, वडा र गाउँस्तरमा योजना छनोट कार्य सुरु हुँदै गर्दा यस पटक यहाँका अधिकांश जिल्लावासीले फरक अनुभव गर्न पाएका छन् ।
गाउँ परिषद्हरु कर्मकाण्डीय हुने र जनसहभागिता कम हुने गुनासो आउँदै गर्दा यस पटक जिविसले गाउँ परिषद्हरुमा जनसहभागिता बढाउन गाविसस्तरमा निर्देशिकाअनुसार कै गाउँ परिषद् गर्न निर्देशन जारी गरेपछि यहाँका स्थानीयवासीले यस पटक फरक अनुभव गर्न पाएका हुन् । जिल्लामा बालबालिका, युवा र लक्षित समूहसँगै गाउँ परिषद्मा स्थानीयवासीको जनसहभागिता बढाउन जिविसले यस पटक फरक नमुना काम सुरु गरेको छ ।
जिल्लामा यस पटक हरेक गाविसमा बाल भेलामार्फत बाल योजनाको छनोट, लक्ष्यित समुदायको छुट्टै भेलामार्फत लक्ष्यित समुदायको योजना छनोट, हरेक योजनामा युवाको सहभागिता र विषयगत योजना विभाजन गरी गाउँ परिषद् सुरु भएका छन् ।
जनसहभागितासँगै रहेक योजना प्रभावकारी बनाउन पनि यस पटक नमुना योजना छनोट कार्य गरिएको स्थानीय विकास अधिकारी शिवप्रसाद रेग्मीले बताउनुभयो । “जिल्लामा पहिलो पटक सबै गाविसमा बाल भेलाबाट बाल योजना छनोट भएका छन्,” रेग्मीले भन्नुभयो – “गाउँ परिषद्हरु नमुना बनाउने गरी लागेका छौैँ ।”
सन् २०२० सम्ममा स्थानीय बालमैत्री शासन कार्यक्रम लागू भएको जिल्ला बनाउन पनि बाल भेलामार्फत बाल योजना छनोटको कार्य सुरु भएको जिविसले जनाएको छ ।
पुस मसान्तसम्म सबै गाविसको गाउँ परिषद् सक्ने गरी अहिले वडास्तरमा एकीकृत योजना छनोट कार्य सञ्चालन भएको छ । त्यस्तै जिल्लाको पहिलो नगरपालिका प्यूठान नगरपालिका पनि पहिलो पटक बाल भेलामार्फत बाल योजना छनोट र वडा तथा बस्तीस्तरको योजना छनोट कार्य सुरु भएको छ ।
नगरका हरेक योजनामा जनसहभागिता वृद्धि गरी योजनाको छनोट कार्य नमुनायोग्य बनाइएको नगरका कार्यकारी अधिकृत नेवबहादुर वलीले बताउनुभयो ।
जिल्लामा जिविसमार्फत सबै गाविस र नगरपालिकामार्फत नगरका सबै वडामा यस पटक जनसहभागितासँग बालभेला, युवा भेला र लक्ष्यित समुदायको भेलाले भिन्दाभिन्दै योजना छनोट तथा विधिहरुको प्रयोग गरी नमुना योजना छनोट सुरु गरिएको छ । रासस
No comments:
Post a Comment