Tuesday, December 29, 2015

उखुको भुक्तानी १९ करोड अझै दिन बाँकी

परासी, १४ पुस । नवलपरासीमा उखु क्रसिङको नयाँ याम सुरु भइसक्दा पनि अझै अधिकांश किसानले आफ्नो पुरानो भुक्तानी रकम पाएका छैनन् ।

जिल्लास्थित चार वटा ठूला उखु मिलबाट अघिल्लो वर्षको करिब रु १९ करोड उनीहरुले अझै भुक्तान लिन बाँकी रहेको छ ।

उद्योगहरुले प्रति क्विन्टल रु ४३६ को दरले अघिल्लो वर्षको रकम बल्ल दिन थालेको भएपनि किसानले उद्योगसँग अझै १९ करोड रुपैयाँ भुक्तानी लिन बाँकी भएको उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले बताउनुभयो ।

यस वर्षको उखुको याम सुरु भएर अहिलेसम्म इन्द्रा सुगर मिल र बागमती सुगर मिल सञ्चालनमा आइसकेका छन् । अझै लुम्बिनी चिनी मिल र मोहिनी चिनी मिल भने अझै सञ्चालनमा आएका छैनन् ।

सरकारले रु ४६१ प्रति क्विन्टल उखुको मूल्य निर्धारण गरेपनि चिनी उद्योगले किसानलाई अघिल्लो वर्षको भुक्तानी रु ४३६ प्रति क्विन्टलको दर मात्र दिँदा किसान थप मारमा परेको उखु उत्पादक महासङ्घका केन्द्रीय सदस्य प्रेमचन्द्र गुप्ताले बताउनुभयो ।

उखु किसानले चिनी उद्योगलाई उखु दिएपनि समयमा भुक्तानी नपाउने भएपछि किसानले प्रत्येक वर्ष यो खेती छोड्दै गएका छन् । उचित मूल्य र समयमा भुक्तानी रकम नपाउँदा किसान थप मारमा परेको उखु किसान अगुवा सुभान अलिले बताउनुभयो ।

जिल्लाको कुल साढे सात हजार हेक्टर क्षेत्रफलमा उखु खेती हँुदै आएको छ । जिल्लामा वार्षिक २० देखि २५ लाख क्विन्टल उखु खेती उत्पादन हुन्छ । जिल्लामा चार वटा चिनी मिल उद्योग छ र करिब ५० भन्दा बढी साना क्रसर (भेलि) उद्योग छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts