काठमाडौँ, २१ मङ्सिर । खानी तथा भूगर्भ विभागले यो आर्थिक वर्षमा नयाँ खानी अध्ययनका लागि पाँच कम्पनीलाई प्रमाणपत्र दिएको छ ।
प्रमाणपत्र वितरण गरिएका खानीमा चुनढुङ्गाका र क्वारजाईटका दुई÷दुई तथा कोइलाका एक रहेको छ । विभागका प्रवक्ता कृष्णदेव झाका अनुसार विभागले यो आवमा सातवटा पुरानो खानीको नवीकरण गरेको छ भने ५९ रद्द गरेको छ ।
विभागले यो आवको कात्तिक मसान्तसम्म खानी तथा भूगर्भ विभागले रु ६ करोड ३९ लाख ६० हजार राजस्व सङ्कलन गरेको छ । विभागबाट दिइने प्रमाणपत्र, प्रमाणपत्र नवीकरण, भूबहालबाट उक्त रकम सङ्कलन गरिएको विभागका प्रवक्ता झा बताउनुहुन्छ ।
विभागले १५ स्थानमा धातु तथा अधातु वस्तुको अध्ययन गरेको छ । धादिङ, मकवानपुरको सिमानामा सिसा, जस्ता, मकवानपुरमा तामाखानी, तनहुँमा फलामखानी, धादिङमा तामाखानी, नवलपरासी र तनहुँको सिमानामा सिसा र जस्ताखानी, काभ्रेपलाञ्चोकमा चुनढुङ्गा खानीको अध्ययन पूरा गरेको छ ।
यस्तै स्याङ्जा, सुर्खेत, पाल्पा र सल्यानमा चुनढुङ्गा तथा बाग्लुङ र उदयपुरमा तामाखानीको अध्ययन गरेको छ । अध्ययन गरिएका खानीमा उद्योग प्रवद्र्धनका लागि निजी क्षेत्रलाई यही महिनाभित्र बोलपत्र आह्वान गर्ने विभागले जानकारी दिएको छ ।
यस्तै गतवर्ष बन्द गरिएका क्रसर उद्योगलाई अध्ययन गरेकाले त्यी उद्योगलाई सञ्चालनका लागि निजी क्षेत्रलाई दिइने तयारी विभागले गरेको छ । यस्तै विभागले भूकम्पप्रभावित १६ जिल्लाको भूमिको अध्ययन गर्नुका साथै त्यहाँको खानीको अध्ययन गर्ने भएको छ । रासस
No comments:
Post a Comment