भैरहवा, १८ मङ्सिर । सुत्केरी सेवामा अतिआवश्यक औषधि अक्सिटोसिन सुई (इन्जेक्सन) को सङ्कट सृजना भएपछि एक गैरसरकारी संस्थाले जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीलाई दुई हजार थान सूई उपलब्ध गराएको छ ।
बन्द–हडतालका कारण अन्य क्षेत्रजस्तै स्वास्थ्य क्षेत्रमा पनि समस्या सृजना भएपछि महिला तथा बालबालिका क्षेत्रमा काम गरिरहेको गैरसरकारी संस्था नमुना एकीकृत विकास परियोजनाले शुक्रबार जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीलाई उक्त औषधि हस्तान्तरण गरेको हो ।
प्रसूतिका समयमा सुत्केरी व्यथा लम्बिएमा छिटो गराउन र अत्यधिक रगत बगेमा रोकथामका लागि प्रयोग गरिने अक्सिटोसिन सुई रुपन्देहीका स्वास्थ्य संस्थामा कमी देखिएपछि उक्त संस्थाले औषधि विदेशबाट खरिद गरी जनस्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरेको नमुना एकीकृत परियोजनाकी अध्यक्ष ज्ञानु पौडेलले जानकारी दिनुभयो ।
रुपन्देही जिल्लामा रहेका अस्पतालमा बिरामीका लागि आवश्यक औषधिको कमीका कारण समस्या सृजना हुने स्थिति आएको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख ऋषिप्रसाद लामिछानेले नमुनाको यो सहयोगले सयौँ सुत्केरी र बच्चाको ज्यान जोगाउनमा सहयोग पु¥याएको बताउनुभयो ।
रुपन्देहीमा अहिले २४ घन्टे सुत्केरी गराउने १८ वटा स्वास्थ्य केन्द्र रहेका छन् जसमा वार्षिक पाँच हजार पाँच सय महिला सुत्केरी हुने गरेका छन् । रासस
No comments:
Post a Comment