लहान, १८ मङ्सिर । मिथिला क्षेत्रमा प्रसिद्ध ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको लोक नाचहरु लोप हुन थालेपछि कलाकारहरु रोजगारीको खोजीमा पलायन हुन थालेका छन् ।
सातौँ र आठौँ शताब्दीदेखि मिथिला क्षेत्रमा प्रचलनमा रहेका राजा सलहेस, शितबसन्त, रुनाझुना, जङ्गली बादशाह, गोपीचन्द, कुवर बृजभान, सुन्दर बनको सुन्दर फूल, अल्लाह रुदल, गुगली घाट, सामाचकेवा, कमला मैयाँ जस्ता नाचहरु कालान्तरमा आएर लोप हुन थालेका छन् ।
यस्तै, जय विषहरा, दुलहा दयालासिंह, विदेशिया, दिनाभद्री, लोरिक, राजानल, राजा हरिश्चन्द्र, सती विहुला, कारिक, महराई शोरवा महाराज, महराई, कारिक महाराज, आल्ला रुदल, झगडु मल जस्ता ऐतिहासिक लोक नाचहरु पनि लोप हुन लागेका छन् ।
बढ्दो टिभी, सिडी र मोबाइलको प्रयोगसँगै ऐतिहासिक तथा प्राचीन लोकगाथाको नाचहरु लोप हुन थालेको दशवर्षको उमेरदेखि नाच नाच्दै आएका सिरहा थलहा ८ तिलासीका ४० वर्षीय पनिराम साफी बताउनुहुन्छ । नाच कम्पनीहरु बन्द हुन थालेपछि आफूहरु बेरोजगार भएका उहाँको भनाइ छं ।
पहिला पहिला प्रतिष्ठाका लागि भएपनि ठूलो रकम खर्चेर ग्रामीण क्षेत्रमा लोक नाच मञ्चन गराइन्थ्यो । अहिले त्यो प्रचलन हराउँदै गएकाले नाच कम्पनीहरु एकपछि अर्को बन्द भएका हुन् । साफी भन्नुहुन्छ –‘‘नाचबाटै कमाएर २० जना कलाकारको सहभागितामा नाच मण्डली खोलेँ । तर दुर्भाग्य भन्नुप¥यो कम्पनी नै चल्न नसकेपछि बन्द गर्नुप¥यो ।”
“केही वर्षअघिसम्म नाच कम्पनीबाटै वार्षिक पाँच÷सात लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गथ्र्यो,” अर्का कलाकार फनिराम भन्नुहुन्छ –‘‘कुनै बेला मिथिला क्षेत्रमा लोक नाच प्रसिद्ध थियो तर अहिले यी मौलिक नाचहरु लोप हुँदै गएका छन् ।”
नाच कम्पनीहरु बन्द हुन थालेपछि त्यसमा संलग्न कलाकारहरु रोजगारीका लागि मलेसिया, साउदी अरब, कतार लगायतका खाडी मुलुक तथा छिमेकी देश भारत तर्फ पलायन हुन थालेको रामको भनाइ छ ।
नाच कम्पनी बन्द भएपछि परिवार पाल्न पनि समस्या भएकाले आफूसँगै नाच कम्पनीमा काम गर्दै आएका साथीहरु रागेजारीका लागि भारतको पञ्जाब र लुधियाना गइसकेको र आफूले पनि भारततिरै जाने सोच बनाएको सिरहाको पोखरभिण्डाका श्रवण सदा बताउनुहुन्छ ।
सिडी चक्का र मोबाइलको बढ्दो प्रयोगका कारण ऐतिहासिक लोक नाच मञ्चन गर्ने कम्पनीहरु विस्थापित हुन थालेको अनुभव सुनाउने कुनै बेला नाच कम्पनीको जिम्मेवारी बहन गरेका सिरहाको कजरा–१ का लोचन मलाह भन्नुहुन्छ –‘‘ऐतिहासिक नाचहरु लोप हुन थालेपछि सिरहा जिल्लामा रहेका एक सयभन्दा बढी नाच कम्पनी बन्द भइसकेका छन् ।”
विगतमा ठूलो नाम कमाएका नाच कम्पनीहरु बन्द भएपछि त्यसमा संलग्न करिब पाँचहजार भन्दा बढी कलाकारहरु बेरोजगार भएर कामको खोजीमा विदेश पलायन भइसकेका बताइन्छ ।
मिथिला क्षेत्रका ग्रामीण इलाकाहरुमा लोकप्रिय रहेका यस्ता लोक नाचहरु सशस्त्र द्वन्द्वकालमा बढी प्रभावित भएको र त्यसयता निरन्तर रुपमा विस्थापित हुने क्रम जारी रहेको कालाकारहरु बताउँछन् ।
खासगरी विवाह, शुभकार्य, उत्सव र चाडपर्वका बेला लोक नाच गराउने परम्परा रहेकामा पछिल्लो समय करिब दश प्रतिशत जति विवाहको बेलामा ग्रामीण क्षेत्रमा मात्र यस्ता लोक नाचहरुको माग आउने गरेको सिरहाको अर्नामा–४ का विन्दु सदा बताउनुहुन्छ । वर्षमा एक÷दुई पटक मात्र लोक नाच हुने गरेकाले कलाकारहरु रोजगारीको खोजीमा पलायन भएको उहाँको भनाइ छ ।
ऐतिहासिक र प्राचीन घटनामा आधारित यी लोक नाचहरु लोप हुन लागेकामा संस्कृतिविद्हरु समेत चिन्तित बनेका छन् ।
संस्कृतिविद् पूर्व प्राध्यापक हरिकान्तलाल दास भन्नुहुन्छ –‘‘मिथिला क्षेत्रको सांस्कृतिक धरोहरको रुपमा रहिआएका लोकनाचहरु लोप हुनु दुखद कुरा हो ।”
यस्ता लोक नाचहरुको संरक्षणमा सरकारको तर्फबाट उचित कदम चालिनुपर्ने उहाँको धारणा छ ।
मिथिला क्षेत्रसँग जोडिएको ठाउँहरुमा पल्लवित र पुष्पित यस्ता लोक नाचको संरक्षण र सम्बद्र्धनमा ध्यान नदिइए मिथिला संस्कृतिहरु हराउँदै जाने भएकाले सरकारले स्थानीय निकाय मार्फत बजेटको व्यवस्था गरिदिन कलाकारहरुले माग गरेका छन् । रासस
No comments:
Post a Comment