काठमाडौँ, २७ मङ्सिर । एकीकृत नेकपा(माओवादी)ले भूकम्पपीडितका नाममा असम्बन्धित व्यक्तिलाई चीन भ्रमणमा पठाइएको विषयमा छानबिन गर्ने भएको छ ।
एमाओवादीको जारी केन्द्रीय समितिको आजको बैठकमा नेताले भूकम्पपीडितका नाममा नेताका छोरी तथा नातिनीलाई भ्रमणमा पठाएको भन्दै सो प्रकरणले पार्टीको साख गिरेको भन्दै छानबिन गर्न माग गरेपछि सो निर्णय भएको हो ।
आजको बैठकमा एमाओवादी केन्द्रीय सदस्य हेमराज भण्डारीले चीन भ्रमण प्रकरणबारे पार्टीभित्र छानबिन हुनुपर्ने माग राख्नुभएको थियो भने अर्का केन्द्रीय सदस्य गङ्गा कार्कीले पनि पार्टीभित्र बढेको स्वेच्छाचारितालाई अन्त्य गर्ने प्रतिबद्धताको माग गरेपछि चीन भ्रमण प्रकरणको छानबिन हुन लागेको हो ।
गृहमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्पपीडित क्षेत्रका व्यक्तिलाई चीन भ्रमणमा पठाउनु पर्नेमा अध्यक्ष पुष्पकमल दाहालकी नातिनी र आफ्नी छोरीलाई चीन भ्रमणमा पठाएको भन्दै नेताले सो प्रकरण कुनै पनि हालतमा छानबिन हुनुपर्ने माग गरेपछि अध्यक्ष दाहालले सो प्रकरण छानबिन हुने विश्वास दिलाउनुभएको हो ।
दश दिनदेखि जारी केन्द्रीय समितिको बैठक र शनिबारको स्थायी समितिको बैठकमा गृहमन्त्री बस्नेतलगायतका मन्त्रीको कार्यशैली गलत भएको, सरकार सञ्चालनसम्बन्धी समन्वय समितिलाई अटेर गरेको भन्दै चर्को आलोचना भएको थियो ।
आजको बैठकमा आठ जना केन्द्रीय सदस्यले धारणा राख्नुभएको जानकारी दिँदै पार्टी प्रवक्ता दिनानाथ शर्माले सोमबार नाम लेखाएका तीन जनाले बोल्न बाँकी रहेको बताउनुभयो ।
आजको बैठकमा नेता रेखा शर्मा, धावा लामा, डोरकुमार उपाध्यक्ष, गणेशमान पुन, खगराज भट्ट, जोखबहादुर महरालगायतले धारणा राख्नुभएको थियो ।
उहाँहरुले पार्टीलाई रुपान्तरण गर्नुपर्ने, पार्टीभित्र देखापरेको अवसरवादलाई समूल अन्त्य गर्नुपर्ने, रुपान्तरण दस्तावेजनमा लेखेर नहुने भन्दै व्यवहारमा नै अनुवाद हुनुपर्नेमा जोड दिनुभएको प्रवक्ता शर्माले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment