Monday, December 7, 2015

खेल मैदानका गुरुयोजना मिचेर माछा पोखरी निर्माण

भीमदत्तनगर, २१ मङ्सिर । जिल्ला खेलकुद विकास समिति कञ्चनपुरको खेल मैदान बनाउने गुरुयोजना मिचेर माछा पोखरी निर्माण गर्न व्यक्तिलाई ठेक्का दिएको छ ।

समितिले मैदान बनाउन तयार गरिएको गुरुयोजना मिचेर एकजनालाई ठेक्का प्रक्रियामार्फत सात बिघा जमिन भाडामा दिएपछि खेल मैदान बन्नुपर्ने ठाउँमा माछापोखरी बनेको हो ।

समितिले भीमदत्तनगरस्थित कभर्डहल क्षेत्रमा रहेको १५ बिघा जमिनमध्ये २०५४ सालदेखि सात बिघा जमिन कृषि प्रयोजनका लागि भाडामा दिँदै आएको थियो । यसअघि पनि उक्त जमिनमा उखु खेती, तरकारी खेती र अन्नबाली लगाइएको थियो । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले भन्नुभयो–“अहिले पनि कृषि प्रयोजनका लागि भाडामा दिइएको हो, ठेकेदारले पोखरी बनाएका छन् ।”

समितिले सात महिनाअघि स्थानीयवासी मदनसिंह क्षेत्रीलाई वार्षिक रु एक लाख ८९ हजार भाडा दिने गरी १० वर्षका लागि उक्त जमिन भाडामा दिएको हो । “खेलकुदलाई आवश्यक परे, तत्काल लिनसक्ने गरी जमिन भाडामा लिने सहमति भएको छ”, कार्यालय प्रमुख भट्टले भन्नुभयो–“अहिले बनाइएका माछापोखरी पनि पुरेर पुरानै अवस्थामा ठेकेदारले छाड्ने सहमति रहेको छ ।”

राष्ट्रिय खेलकुद परिषद्ले एक दशकअघि उक्त स्थानमा खेल मैदान बनाउने गुरुयोजना बनाएको थियो । गुरुयोजनाअनुसार हालसम्म खेल मैदानमा खेलकुदका कुनै पनि भौतिक संरचना नबने पनि विभिन्न खेलकुद सङ्घ तथा प्रशिक्षकको पहलमा केही संरचनाहरु भने बनेका छन् । भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टको पहलमा भलिबल छात्रबास बन्नुका साथै प्याराफिल निर्माणाधीन अवस्थामा छन् भने केही समयअघि जिल्ला बक्सिङ सङ्घ तथा बक्सिङ प्रशिक्षक एवम् ओलम्पियन डम्बरदत्त भट्टको सक्रियतामा बक्सिङको आधुनिक प्रशिक्षण केन्द्र बनेको थियो ।

त्यसैगरी कराँते सङ्घको पहलमा पनि कराँते प्रशिक्षण क्षेत्रको सुरुवात भएको छ । समितिको आयस्रोतका लागि भविष्यमा खेल मैदान निर्माण हुने जमिनको धरातल नै बिग्रिने गरी गुरुयोजनालाई बेवास्ता गरेर माछापोखरी निर्माण भएको भन्दै यहाँका केही खेलकुद प्रशिक्षक तथा खेलाडीले असहमतिसमेत जनाएका छन् । खेलकुदका संरचना बन्ने ठाउँमा पोखरी बनाउन नहुने राष्ट्रिय खेलकुद परिषद्का पूर्व केन्द्रीय सदस्य पदम बोगटी बताउनुहुन्छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts