दोलखा,२३ मङ्सिर । भारतले गरेको नाकाबन्दीका कारण दोलखाका स्वास्थ्य संस्थामा सीटामोलको समेत चरम अभाव भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय दोलखाका अनुसार हाल जिल्लामा सिटामोल सिरफ र झाडापखाला निको पार्नका लागि प्रयोग हुने मेट्रो ट्याब्लेटसमेत छैन ।
कार्यालयका अनुसार अन्य औषधि भने पन्ध्र दिनसम्मका लागि मात्र मौजात छ । सरकारले वितरण गरिरहेको ४० प्रकारको निःशुल्क औषधिमध्ये पारासिटामोल र मेन्ट्रोनिराजोल ट्याब्लेट भने सकिएको छ ।
तत्काल नाकाबन्दी नखुले जिल्लामा अन्य औषधिकोसमेत अभाव हुने बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालयमा औषधि अभाव भएकै कारण स्वास्थ्य चौकीले मागेजति औषधि दिन नसकिएको कार्यालयले जनाएको छ ।
भूकम्पबाट घरबारविहीन भएका दोलखाका स्थानीयवासी चिसोको कारण विभिन्न रोगको सङ्क्रमित हुन लागेको र पर्याप्त औषधि नहँुदा समस्या पर्न लागेको सरोकारवाला निकायहरुको भनाइ छ । तत्काल जिल्ला स्वास्थ्य कार्यालयले औषधि खरिद गर्न नसके ठूलो विपत्ति आइपर्ने स्वास्थ्यकर्मीको भनाइ छ । जिल्लाको माथिल्लो भेगमा चिसो बढिसकेको र चिसोका बिरामी बढ्न लागेको कारण तत्काल औषधि नल्याए समस्या आउने चिसिकत्सकहरुको भनाइ छ ।
जिल्लामा ५२ स्वास्थ्य चौकी , दुई प्राथमिक स्वास्थ्य केन्द्र र एउटा जिरी अस्पताल रहेको छ भने केही निजी अस्पतालमा समेत औषधि अभाव हुँदा धेरै बिरामीलाई त्यतिकै फिर्ता पठाउनुपरेको छ । रासस
No comments:
Post a Comment