Wednesday, December 9, 2015

‘विपद् व्यवस्थापन, पुनःनिर्माण र दिगो विकासका लागि राष्ट्रिय महिला सम्मेलन सुरु

काठमाडौँ, २३ मङ्सिर । अस्मिता प्रकाशन गृह, एक्सन एड नेपाल र महिला अधिकार मञ्चको संयुक्त आयोजनामा आजदेखि ‘विपद् व्यवस्थापन, पुनःनिर्माण र दिगो विकासका लागि राष्ट्रिय महिला सम्मेलन’ सुरु भएको छ ।

सम्मेलनको उद्घाटन गर्दै राष्ट्रिय महिला आयोगका कार्यबाहक अध्यक्ष मनु हुमागाईले गत वैशाख १२ र त्यसपछि गएकोे भूकम्पमा बढी महिला र बालबालिका प्रभावित भएको बताउँदै विपद्का बेला महिलाको सहभागितालाई महत्वपूर्ण बनाउने नीति निर्माणका लागि सम्मेलनले उल्लेखनीय भूमिका निभाउने विश्वास व्यक्त गर्नुभयो ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सहसचिव राधिका अर्यालले विपद्का बेला महिलाको मानवअधिकारलाई कसरी सुनिश्चित गर्ने भन्ने नीतिको खाँचो रहेको बताउनुभयो ।

एक्सन एडका कार्यसमिति उपाध्यक्ष लजना मानन्धर र एक्सन एडका राष्ट्रिय अध्यक्ष विमल फुयाँलले विपद्पछिको अबको नयाँ नेपाल निर्माण कसरी गर्ने भन्ने कुरा नेपालीकै हातमा रहेको र विपद्मा एक्सन एड सधैँ साथमा रहने बताउनुभयो ।

महिला अधिकारकर्मी रिता थापाले प्राकृतिक विपद्का कुरा धेरै आएकाले मानवीय विपद्का कुरा पनि उठाउनुपर्ने बेला आएको बताउँदै भारतको नाकाबन्दीका कारण नेपालको प्राकृतिक वातावरणमा पर्ने असरलाई पनि सोच्नुपर्नेमा जोड दिनुभयो ।

भोलिसम्म चल्ने उक्त सम्मेलनमा काठमाडौँ उपत्यकासहित दोलखा, रसुवा, काभ्रेलगायत विभिन्न ३० जिल्लाका महिलाको सहभागिता रहेको छ ।
उक्त सम्मेलनमा विभिन्न विषयका वक्ताले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts