भक्तपुर, १२ पुस । नेपालको संविधान, २०७२ मा स्थापित नागरिकको हकका बारेमा जानकारी दिन आयोजना भएको कार्यक्रममा संविधान बनाउने सभासद्लाई नबोलाएको भन्दै नागरिकले आपत्ति जनाएका छन् ।
शान्ति मन्त्रालयको रु तीन लाखको बजेटमा स्थानीय शान्ति समिति भक्तपुरले आयोजना गरेको कार्यक्रममा सभासद्को उपस्थिति बिनाको कार्यक्रम प्रभावकारी नहुने भन्दै नागरिकले आक्रोश व्यक्त गरेका हुन् ।
आज मध्यपुरथिमि नगरपालिकामा समितिको आयोजना तथा मध्यपुरथिमि नगरपालिकाको सहयोगमा भएको नेपालको संविधान, २०७२ अनुशिक्षण कार्यक्रममा सभासद् नआएपछि केहीले कार्यक्रम नै बहिष्कार गरेका थिए ।
कार्यक्रममा थिमिका बासिन्दा एवम् नेकपा माओवादीका स्थानीय नेता बालकृष्ण श्रेष्ठले संविधान बनाउने सभासद् नै नबोलाउने कार्यक्रममा जनताले संविधानका बारेमा कसरी जानकारी पाउने भन्दै यस्तो कार्यक्रमको औचित्य नहुने बताउनुभयो ।
कार्यक्रममा अर्का स्थानीय रामप्रसाद प्रजापतिले संविधानका बारेमा जनतालाई जानकारी गराउने कार्यक्रममा वकिल परिचालन गरेर बजेट मात्रै सिध्याउन खोजेको भन्दै कार्यक्रमकै आलोचना गर्नुभएको थियो ।
यसबारेमा जानकारी दिँदै समितिका अध्यक्ष गणेशमान चक्रधरले नेपालको संविधानले नागरिकलाई प्रदत्त गरेको हक, अधिकारकाबारेमा जानकारी दिन आयोजित कार्यक्रम भए पनि यो कार्यक्रममा सभासद्लाई नबोलाउने गरेको बताउनुभयो ।
शान्ति मन्त्रालयको बजेटमा आयोजना गरेको यस कार्यक्रममा दुईजना कानुन व्यवसायीले अनुशिक्षण दिने भएकाले सभासद्लाई नबोलाएको बताउनुभयो ।
आजको कार्यक्रममा भने भक्तपुरका प्रमुख जिल्ला अधिकारी तोयम रायाले संविधान पार्टीको दस्तावेज नभई जनताको अधिकार समेटिएकाले यसलाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
समितिले यसअघि गत पुस ५ गते चाँगुनारायण नगरपालिकामा, ७ गते नगरकोट नगरपालिका र ९ गते सूर्यविनायक नगरपालिकामा यसप्रकारको कार्यक्रम सम्पन्न गरिसकेको छ । रासस
No comments:
Post a Comment