काठमाडौँ, ५ पुस । भारतीय निर्माण व्यावसायीले अधकल्चो अवस्थामा नै छाडेको म्याग्दीमा निर्माण हुन लागेको राहुघाट जलविद्युत आयोजनाको क्षमता वृद्धि गरी नयाँ आधारमा अगाडि बढाउने तयारी गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले भारतीय कम्पनी आइभिआरसिएलसँग भएको ठेक्का सम्झौता तोडेर नयाँ ठेकेदार छनोटका लागि बोलपत्र आह्वानको तयारी गरेको छ । आयोजनाको वित्तीय तथा प्राविधिक सम्भाव्यता पुनरावलोकन गरी क्षमतासमेत वृद्धि गर्न लागिएको छ । भारतीय कम्पनीले ३२ मेगावाट क्षमतामा आयोजना अगाडि बढाउने जनाएकामा हाल क्षमता वृद्धि गरी ४० मेगावाट बनाउन लागिएको छ ।
आठ मेगावाट क्षमता वृद्धि गर्दा कुल लगानीमा केही प्रतिशत मात्रै बढी पर्ने जनाइएको छ । सो जलविद्युत् आयोजनाका प्रमुख कुलमान घिसिङले इन्जिनियरिङ, प्रबन्ध तथा निर्माण (इपिसी) मोडलमा निर्माण गर्ने गरी अगाडि बढाइएको बताउनुभयो । सो आयोजनामा भारतीय आयात निर्यात बैंकले लगानी गरेको छ । आगामी एक महिनाभित्र सबै प्राविधिक तयारी पूरा गरेर आयोजना अगाडि बढाउन लागिएको प्रमुख घिसिङको भनाइ छ । उहाँले सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलको बोलपत्र गर्न लागिएको जानकारी दिँदै अब नयाँ प्रक्रियाका आधारमा आयोजना अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आयोजनाको पुनःनक्साङकन (रिडिजाइन) गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
आयोजनाको सिभिल ठेकेदार आइभिआरसिएल कम्पनीको कमजोर आर्थिक अवस्थाका कारण समयमै काम गर्न नसकेपछि ठेक्का तोडेपछि अर्को ठेक्का प्रक्रिया सुरु गर्न दोस्रो पटक नक्साङ्कन गरिएको हो । आयोजनाको बाँध, सुरुङ, विद्युत्गृह र सडक बनाउने ठेक्का पाएको भारतीय कम्पनीसँग गत असारमा प्राधिकरणले ठेक्का सम्झौता खारेज गरेको थियो । प्राविधिक टोलीले स्थलगत सर्वेक्षणको काम सकेर प्रतिवेदन तयार पार्ने काम गरिरहेको आयोजनाका ईञ्चार्ज ईश्वरसिंह बोहोराले जानकारी दिनुभयो । उहाँका अनुसार केही दिन भित्रै पुनः नक्साङ्कन प्रतिवेदन प्राधिकरणलाई बुझाउने तयारी गरिएको छ । प्राविधिक टोलीले प्रतिवेदन बुझाएपछि प्राधिकरणले ठेक्का आह्वान गर्नेछ ।
आइभिआरसिएलले गरेका कामको मूल्याङ्कन गरी गर्न बाँकी कामका लागि नक्साङ्कन गरिएको हो । विसं २०६६ मा सर्वेक्षण अनुसार रु छ अर्ब ७० करोड लागत अनुमान गरिएको आयोजनाको लागत र क्षमता दुवै बढ्ने देखिएको छ । यसै वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको हालसम्म पिप्ले तिल्केनीचौरमा अडिट नम्बर ३ को ६४.५ मि सुरुङ र एक हजार ८० मि सडक निर्माण भएको छ । सकिनुपर्ने समयसम्म आयोजनाको भौतिक तथा वित्तीय प्रगति १२ प्रतिशत मात्रै सम्पन्न भएको छ ।
सिभिल ठेकेदारसँगको सम्झौता तोडिएपनि आवास क्षेत्रमा नाली निर्माण, खानेपानी र विद्युत् जडानको जिम्मेवारी पाएको नेपाली ठेकेदार भने एक वर्षपछि कार्यक्षेत्रमा फर्किएका छन् । लामा कन्ट्रक्सन र गोर्खा कन्ट्रक्सनले कार्यक्षेत्रमा फर्र्किएर काम सुरु गरेको आयोजनाले जनाएको छ । प्राधिकरणले निर्माण गरिरहेको सबैभन्दा विवादित र समस्याग्रस्त आयोजनाको रुपमा रहेको सो परियोजनामा व्यवस्थापिका–संसद्का विभिन्न समितिले समेत चासो देखाउँदै आएका छन् । कृषि तथा जलस्रोत समितिले निजी क्षेत्रले निर्माण गर्ने आयोजना समयमा पूरा हुने तर प्राधिकरणले अगाडि बढाउने आयोजनाको समय र लागत बढ्नुको पछाडि रहेको कारण के हो भन्नेमा चासो देखाएको छ ।
समितिका सभापति गगन थापाले राहुघाट आयोजनाको विषयमा देखिएको समस्या समाधान गरी निर्माण प्रक्रिया सुरु गर्न प्राधिकरणलाई निर्देशन दिइसकेको बताउनुहुन्छ । प्राधिकरणका उपकार्यकारी निर्देशक शेरसिंह भाटकाअनुसार बोलपत्र टुङ्गिएपछि ३६ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कुनै प्राविधिक तथा अन्य जटिलता आएपनि आगामी ४२ महिनाभित्र जसरी पनि निर्माण सम्पन्न गर्ने प्राधिकरणको तयारी छ । लामो समयदेखि चर्चा, विवाद तथा मुद्दा मामिलामा फसेको सो आयोजनामा स्थानीयको भावनासमेत समेटिनुपर्ने माग पनि उठ्दै आएको छ ।
म्याग्दीका सांसद नवराज शर्मा स्थानीय जनताको भावना र चाहनालाई सम्बोधन गरेर, उनीहरुले समेत अपनत्व हुने गरी आयोजना अगाडि बढाउनुपर्नेमा जोड दिनुहुन्छ । संसद्को कृषि तथा जलस्रोत समितिमा उहाँले पटकपटक सो आयोजनाका सम्बन्धमा प्राधिकरणको धारणा माग गर्दै आउनुभएको छ । ‘‘राहुघाटलाई तत्काल अगाडि बढाउन र समयमै सम्पन्न गर्नुपर्छ, कुनै पनि वाहनामा अब पछाडि धकेलिनु हुँदैन, पाइँदैन र मिल्दैन पनि”–सांसद शर्माले भन्नुभयो । रासस
No comments:
Post a Comment